धनगढी, फाल्गुन ४/ नेपाली कांग्रेसका नेता नैनसिंह महरले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई यथाशीघ्र कारबाही गर्न माग गरेका छन् ।
नेता महरले मंगलबार घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसँग छलफल गरेका छन् । छलफलका क्रममा उनले डीआईजी सुवेदीलाई पीडितलाई न्याय दिन ढिलाइ गर्न आग्रह गरेका छन् ।
अहिले घटनास्थलमा नै पुगेर अनुसन्धान गरिरहेका डिआईजी सुवेदीले छलफलका क्रममा डीआईजी सुवेदीले भने, “हामीहरु अपराधीको नजिक पुगिसकेको छौं । अबको एक सातामा घटनामा संलग्नलाई सार्वजनिक गर्नेछौं ।”
यसअघि घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा नेता रमेश लेखक बैतडी पुगेका थिए । घटनापश्चात विभिन्न पार्टीका नेता, कार्यकर्ता घटनास्थल र पीडित परिवारलाई भेट्ने क्रम चलिरहेको छ ।
भागरथी गत माघ २२ गते बलात्कारपछि हत्या गरिएकी अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् । हालसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन ।
घटना अनुसन्धान टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् । यस्तै घटना भएको भएको यतिका दिन बितिसक्दासमेत अपराधी पत्ता नलागेको भन्दै शान्तिपूर्ण आन्दोलन पनि जारी छ ।