काठमाडौं, माघ २४/ नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार संसद् विघटनको विरोधमा देशभर प्रदर्शन गरेका छन् । मातृ पार्टीको निर्देशनमा कांग्रेसको १८ शुभेच्छुक संस्थाहरु ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
शुभेच्छुक संस्थाहरुले काठमाडौंको टुँडिखेल वरपर र बाँकी रहेका ७६ जिल्लामा तोकिएको स्थानमा मौन रुपमा मर्यादित ढंगले सांकेतिक विरोध प्रदर्शन गरेको कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागका संयोजक एनपी साउदले जानकारी दिए ।
प्रदर्शनका क्रममा कांग्रेसका शुभेच्छुक संस्थाहरुले टुँडिखेलमा मानव साङ्लो बनाएर मौन प्रदर्शन गरेका छन् । टुँडिखेलको बाहिरी भाग घेराउ गरेर उनीहरुले आधा घण्टा मौन प्रदर्शन गरेका हुन् । भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरुले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेर विरोध प्रदर्शनमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न मातहतलाई निर्देशन दिएका छन् ।

माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो ।
सोहीअनुसार शनिबार शुभेच्छुक संस्थाहरुलाई ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेका हुन् । कांग्रेसले जिल्ला कार्यसमितिहरुलाई माघ ३० गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न भनेको छ ।

यसअघि मातृ पार्टीको निर्देशनअनुसार कांग्रेसका १३ भ्रातृ संगठनहरु गत सोमबार देशभर प्रदर्शन गरेका थिए । कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलनअन्तरगत माघ ८ गते छ हजार सात सय ४३ वडामा विरोध प्रदर्शन गरेको थियो ।
यस्तै माघ ३ गते सात सय ५३ स्थानीय तहहरुमा र गत पुस २५ गते तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । कांग्रेसले पहिलो चरणअन्तर्गत गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।
