काठमाडौं, माघ २३/ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालले अरुले पकाएको भात बाँड्दै र फोटो खिचेर तमासा देखाएको बताएका छन् । शुक्रबार आफुपक्षीय पार्टीको काठमाडौमा आयोजित सभालाई सम्बाधन गर्दै ओलीले प्रचण्ड माधवहरुले सडकमा अरुले पकाएको भात बाड्न डाडु पन्यु बोकेर पुगेको टिप्पणी गरेका हुन् ।
बिहीबार प्रचण्ड नेपाल पक्षले गरेको आमहड्तालका क्रममा कोटेश्वरमा आन्दोलनकारीले सडकमा भात पकाएर खाएका थिए । त्यसक्रममा प्रचण्ड माधव पक्षका दुवै अध्यक्ष सहभागी भएका थिए । त्यसैलाई संकेत गर्दै ओलीले प्रचण्ड नेपाललाई व्यङ्ग्य गरेका हुन् । ‘केही पूर्व प्रधानमन्त्रीहरु अरुले पकाएको भात बाँड्न लागे । काम गर्न होइन, तमासा देखाउन’, उनले आफु भने विकास र सम्बृद्धिका काममा लाग्ने भन्दै नाटक नगर्ने बताए ।
उनले सम्बोधनका क्रममा आफुले तीन बर्षदेखि गरेका कामको फेहरिस्थ सुनाउदै अरु कसैले गर्न नसकेको काम गरेपनि कोभिडका कारण केही समस्या पैदा भएको दाबी गरे । ‘बढ्दै गरेको कोभिडलाई नियन्त्रण गरेका छौँ अब त खोप पनि ल्याइसकेका छौँ,’ ओलीको भनाइ छ ।