धनगढी, माघ १७/ पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कलाई व्यवस्थित गरिएको छ। भीमदत्त नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आईओएम० र स्वास्थ्य सेवा विभाग ईपीमीडीलोजी तथा रोग नियन्त्रण महाशाखाको साझेदारीमा डेस्कलाई व्यवस्थित बनाएको हो।
कोराना महामारी फैलिएपछि गत वर्ष फागुनदेखि गड्डाचौकीस्थित राजमार्ग छेउमा सञ्चालनमा ल्याइएको हेल्थ डेस्कलाई स्थायी रुपमा सञ्चालनमा ल्याउने गरी दुई शय्या र उपकरण थप गरिएका छन्। स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मीको सङ्ख्या बढाइएको छ।
कोरोना महामारीलाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको हेल्थ डेस्कलाई आगामी दिनमा पनि महामारीजन्य रोग भित्रिन नदिन स्वास्थ्य जाँच केन्द्र बनाउने गरी व्यवस्थित गरिएको बताइएको छ। ईपीमीडीलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीले कोरोना महामारीका लागि सञ्चालनमा ल्याइएका हेल्थ डेस्कलाई आगामी दिनमा अन्य महामारी भित्रिन नदिने गरी सृदृढीकरण गर्न लागिएको बताए।
सुदूरपश्चिम प्रदेशमा गड्डाचौकी र गौरीफन्टा नाकामा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा हेल्थ डेस्कलाई सृदृढीकरण गरिएको उनले जानकारी दिए। देशभरका १३ स्थानका हेल्थ डेस्कलाई व्यवस्थित गर्ने योजना रहेको बताइएको छ। हेल्थ डेस्कमा अस्थायी दरबन्दी सिर्जना गरी मेडिकल अफिसरलगायत जनशक्ति पूर्ति गर्न पनि बजेट विनियोजन गरिएको जनस्वास्थय अधिकृत नेपालीले बताए।
कोरोना महामारी फैलिएपछि गत वर्ष नगरपालिकाले जनशक्ति थप गरी हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो। एक वर्षमा एक लाख ५० हजार व्यक्तिको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएको छ। नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन गड्डाचौकीसहित झोलुङ्गे पुल र ब्रह्मदेवमा पनि अस्थायी रुपमा डेस्क सञ्चालनमा ल्याएको नगरप्रमुख सुरेन्द्र विष्टले बताए।रासस