धनगढी, माघ १६/ सुदूरपश्चिममा दुई दिनमा दुई हजार चार सय १७ जनालाई कोरोना विरुद्धको खोप लगाएका छन । पहिलो दिन एक हजार ८२ जना र दोस्रो दिन एक हजार तीन सय ३७ जनालाई कोरोना विरुद्धको खोप लगाईएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारदेखि खोप अभियान सुरु भएपछि दुई दिनसम्म खोप लगाउनेको संख्या दुई हजार ४१९ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा बिहीबार एक हजार तीन सय ३७ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ ।
बिहीबार अछाममा दुई सय, बैतडीमा दुई सय २०, बझाङमा ९०, बाजुरामा एक सय ८, डडेल्धुरामा एक सय ४० जनालाई खोप लगाइएको छ । यसैगरी, दार्चुलामा एक सय २०, डोटीमा एक सय १ं०, कञ्चनपुरमा एक सय १० र कैलालीमा दुई सय ३९ जनाले खोप लगाएका छन् ।
कैलालीको टीकापुर अस्पतालबाट एक सय २० र सेती प्रादेशिक अस्पतालबाट एक सय १९ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । हालसम्म खोप लगाइसकेपछि चार जनालाई सामान्य खालको प्रतिक्रियात्मक असर देखा परेको मन्त्रालयले जानकारी दिएको छ ।
सुदूरपश्चिम सहित प्रदेशभरि बुधबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गरिएको हो । सुदूरपश्चिममा पहिलो दिन १ हजार ८२ जनालाई कोरोना विरुद्धको खोप लगाईएको थियो ।
प्रदेशका ९ वटा खोप केन्द्र मार्फत पहिलो दिन १ हजार ८२ जना स्वास्थ्यकर्मीले खोप लगाईएको थियो । पहिलो दिन सबैभन्दा धेरै अछाममा २ सय ३७ जना स्वास्थ्यकर्मीले खोप लगाएका थिए । यस्तै सेती प्रादेशिक अस्पतालमा १ सय ७० जना, टीकापुर अस्पतालमा ८७ जना, डोटीमा १ सय ५६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा १ सय २४ जना, डडेल्धुरामा १ सय २२ जना, बैतडीमा ७, बझाङमा ५९ र दार्चुलामा ५० जना स्वास्थ्यकर्मीले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
भारतले अनुदानमा उपलब्ध गराएका खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई लगाइने प्रदेश सरकारले जनाएको छ । संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना विरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको छ ।
आइतबार संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेरेटर भ्यान मार्फत प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्ने गरी कोरोना विरुद्धको खोप पठाएको थियो ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीहरु, फोहोरमैला व्यवस्थापनमा खटिने फोहर संकलक र तथा चालकहरु, एम्बुलेन्स तथा शव वाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकहरु र महिला स्वास्थ्य स्वयम् सेवकहरुलाई खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, वृद्धाश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारीहरु र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरुलाई पनि खोप लगाउने प्राथमिकतामा सरकारले राखेको छ ।