धनगढी, माघ १४/पटक–पटकको अवरोधपछि मंगलबार छबिस पाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव भयो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरा विजयी भए । उनले नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामीलाई २८ मतले पराजित गरेका हुन् ।
चुनाव पछि कति घर फर्किसकेका थिए । कति फर्किदै थिए । घर फर्किरहेका मध्य एक थिए, छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंह ।
तर, उनि विद्यालयबाट घरसम्म पुग्न पाएनन् । बाटैमा उनको खुँडा प्रहार गरी हत्या भयो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार बन्नीचौर माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा विवाद भएको थियो ।
सोही विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति रहेको स्थानीयको भनाई छ ।
घटनापछि वडा अध्यक्ष विकास ऐडी, प्रकाश ऐडी, ज्ञानबहादुर कडायत र केदार ऐडी पक्राउ परेको डिएसपी रुपक खड्काले जानकारी दिए ।उनीहरुमाथि अनुसन्धान सुरु भएको जानकारी उनले दिए ।हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल प्रयोग गरिएको बताइएको छ ।
हत्यामा छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडीको सरकारी मोटरसाइकल प्रयोग भएको हो ।