टेक सिँह धामी, धनगढी ३ माघ/ बैतडीको सिगास गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको कोसेली वितरण सुरु गरेको छ। हजार दिने आमाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सुत्केरी आमाहरुलाई कोसेली वितरण गर्न थालिएको र गाउँपालिकाका प्रत्येक स्वास्थ्य संस्था मार्फत कोसेली वितरण कार्य भईरहेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिईन्।
उनले भनिन् “हजार दिने आमाको स्वास्थ्य र पोषणका बिषयमा घरपरिवारका सदस्यहरु पनि जानकार होउन भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो। स्वास्थ्य संस्थामा नियमित रुपमा गर्भजाँच गर्ने र स्वास्थ्य संस्थामै बच्चा पाएका आमाहरुलाई कोसेली वितरण गर्ने गरिएको छ।”
कोसेलीमा २ केजी आयोडिनयुक्त नुन, १ केजी चना, १ केजी मटर, सेनेटाइजर, रुमाल र सरसफाईका सामग्री राखिएको छ। गाउँपालिकाका ९ ओटै वडामा कोसेली पुर्याउने योजना रहेको छ।
उपाध्यक्षको कोसेली कार्यक्रमले गर्भावस्था र सुत्केरी अवस्थामा आमाको हेरचाहका लागि परिवार सदस्यहरुको भूमिकालाई अझै मजबुत बनाउने स्वास्थ्यकर्मीहरुको बुझाइ रहेको छ ।