धनगढी, २६ पुस/ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमा अनेरास्ववियु कैलालीले बयलगाडा र्याली निकालेको छ ।
आइतबार नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह निकटको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले बयलगाडा र्याली निकालेको हो।
धनगढीको क्याम्पस चोकबाट सुरु भएको बयलगाडा र्याली पार्कमोड पुगेर कोणसभामा परिणत भएको थियो ।
२०६२र०६३ सालको जनआन्दोलनताका ओलीले ’गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए। सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले अहिले बयलगाडा प्रदर्शन गरेको हो।
प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले माग गरिरहेको छ।
