• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सरकारी नेकपाको उल्टो यात्रा

कुलचन्द्र वाग्ले

सरकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनः पश्चगामी बाटामा फर्किएको छ । त्यसो त कम्युनिस्टहरु कहिले अग्रगामी थिए र हुन्थे त भन्ने प्रश्न उठ्ला । प्रजातान्त्रिक बाटोबाट रुपान्तरित हुदैनन् भने कम्युनिस्टहरु जडसूत्रीय, पश्चगामी नै हुन्छन् । सरकारी नेकपाको हालै सार्वजनिक राजनीतिक दस्तावेजले ऊ पुनः पश्चगामी बाटोमा जानसक्ने विन्दुमा उभिएको देखिँदै छ । (धेरैथरी नेकपा रहेकाले स्पष्ट गर्न सरकारी नेकपा लेखिएको हो ) ।

छिमेकी चीनले बन्द कम्युनिस्ट सत्तालाई रुपान्तरण गर्न द्वैध शासन प्रणाली अपनायो र आज बलियो स्थितिमा आइपुगेको छ । चीन राजनीतिमा कम्युनिस्ट र अर्थसामाजिक नीतिमा पुँजीवादी व्यवस्थामा गयो । पुँजीवादी अर्थनीति परम्परागत कम्युनिस्ट नीति प्रतिकूल हो ।

तत्कालीन सोभियत संघ अब छैन र अहिलेको रुस पनि लेनिन, स्टालिन त के ख्रुचेबको बाटोमा पनि छैन । बेलाबेला त्यहाँ प्रतिपक्षी दलको नेतालाई दुःख दिइएको समाचार आउनुले रुसमा प्रतिपक्षी दल छ भन्ने बुझ्न सकिन्छ । कम्युनिस्ट बन्द समाजबाट रुस केही खुकुलो भएको अर्थ निकाल्न मिल्छ । सामाजिक सम्यताको विकासक्रमले सिर्जना गरेको बाध्यताले यी दुई ठूला मुलुक पोथापन्थी कम्युनिस्ट परम्परामा केही सुधार र रुपान्तरण गर्न तयार भएको हुनुपर्छ । तर, कम्युनिस्ट उत्तर कोरियाको उदाहरण भने भिन्न छ ।

नेपालको सन्दर्भमा पनि यहाँका कम्युनिस्टले प्रजातान्त्रिक रुपान्तरण हुने प्रयास गरेको देखिन्छ । तर, यिनले मौकापरस्त र अस्थिर चरित्र कायम राखेका छन् । विगतमा मनमोहन अधिकारीले नेतृत्व गरेको माक्र्सवादी कम्युनिस्ट र विष्णुबहादुर मानन्धरको संयुक्त कम्युनिस्टलाई छोड्ने हो भने नेपालका माले, माओवादी र मालेमा कम्युनिस्टहरु जडसूत्रीय निषेधको राजनीतिमै अभ्यस्त रहेका हुन् । सबैभन्दा ठूलो उदाहरण, २०३६–०३७ मा बहुदलीय वा निर्दलीय व्यवस्थाको छनोटका लागि गरिएको जनमत संग्रहलाई धोका भन्दै निर्दलका पक्षमा पहेंलो रंगमा मतदान गर्नु हो । यद्यपि, माक्र्सवादी र संयुक्तले बहुदलीय व्यवस्थाको पक्षमा प्रचारप्रसार र मतदान गरेका थिए ।

नेकपाका संस्थापक नेता पुष्पलालको जमानामा कम्युनिस्ट पनि प्रजातान्त्रिक अभ्यासमा थिए । प्रजातान्त्रिक चुनावमा खुला सहभागी रहे । सत्र सालमा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रतिनिधिसभा विघटन र बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरेपछि यहाँका कम्युनिस्टहरु बहुध्रुवमा विभक्त भए । शीतयुद्धको प्रभावको बेला कम्युनिस्ट मुलुकहरु एकले अर्कोलाई कम्युनिस्ट मान्थेनन् । सोभियत रुसले चीन र चीनले रुसलाई कम्युनिस्ट दर्जा दिन अस्वीकृत गरे ।

केही कम्युनिस्ट मुलुक रुसको धुरीमा लागे र केही चीन समर्थक भए । फलतः नेपालमा पनि चीन समर्थक, रुस समर्थक र राजा समर्थक कम्युनिस्ट ध्रुव वा घटक खडा भए । यिनीहरु एकले अर्कोको अस्तित्वलाई सम्मान गर्थेनन् । आपसी आरोप, प्रत्यारोपमा कम्युनिस्ट एकले अर्कोलाई संशोधनवादी, पोथापन्थी, जडसूत्रवादी, लम्पसारवादी र गद्दार जस्तो उपमा दिँदैआए ।

शक्ति राष्ट्र अमेरिका र सोभियत रुसको स्पर्धाले उत्पन्न द्वन्द्वको परिणाम विश्वजनमत यी दुई शक्ति राष्ट्रको ध्रुवमा विभक्त थियो । यी दुवै ध्रुवभन्दा भिन्न हुन असंलग्न राष्ट्रहरुको अलग्गै संगठन (आन्दोलन) जन्माइएको हो । सोभियत संघको विघटन भएपछि शीतयुद्धको अन्त्य सँगै एकल शक्तिराष्ट्र अमेरिका मानियो । सोभियत संघको विघटन र शीतयुद्धको समाप्तिपछि पूर्वी युरोपका मुलुकहरुको एकपछि अर्को कम्युनिस्ट सत्ता धराशायी भए । झन्डै आधा विश्व चर्चेको कम्युनिस्ट विचारधारा दिग्भ्रमित अवस्थामा आइपुग्यो ।

यही दिग्भ्रमका बीच चीन र रुसलगायतका मुलुकले आंशिक नै सही रुपान्तरण वा केही खुकुलो समाजतिर जाने बाटो रोजे । चीनमा यसअघि नै देङ सियाओ पिङले आर्थिक उदारीकरणको मार्ग देखाएका थिए । केही कम्युनिस्ट मुलुक प्रजातान्त्रिक प्रणालीमै आए । यद्यपि, दुई चार मुलुक थप अझै बन्द समाजको कम्युनिस्टीकरणमा नै छन् ।

विश्व परिवर्तनको प्रभाव नेपालमा पनि पर्यो । परम्परावादी कम्युनिस्ट सत्ताको धुरी निस्प्रभावी भएपछि बिलखबन्दमा परेको र पुष्पलालको मार्गमा पनि नभएको नेपालको कम्युनिस्ट आन्दोलनलाई तत्कालीन महासचिव मदन भण्डारीले प्रजातान्त्रिक खुला प्रतिस्पर्धामा ल्याउने प्रयास थाले । त्यसअघि पुष्पलालले अपनाएको प्रजातान्त्रिक अभ्यासलाई ‘जबज’को नयाँ कलेबर दिएर महासचिव भण्डारीले खासगरी एमालेलाई राजनीतिक बैतरणी पार गराएका हुन् ।

प्रजातान्त्रिक अभ्यासमा लागेका पुष्पलाललाई जडसूत्रवादी र राजापरस्त कम्युनिस्टहरुले निकै प्रहार गरे, उनलाई गद्दार घोषित गरे । पुष्पलाल असफल भए र जडसूत्रीयले अड्डा जमाए, परम्परावादी धुँवाधुनी जगाए । तर, मदन भण्डारीले चाहिँ आरोपहरुलाई परास्त गरे र आफ्नो दल मालेलाई एमाले बनाएर कम्युनिस्ट घटकहरुबीच सबैभन्दा ठूलो देखिए ।

पहिले माले भनिने पार्टीमा माक्र्सवादी मनमोहन अधिकारीलाई मिसाएर एमाले बनाइएको हो । यसपछि २०४९ सालमा मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद(जबज)’ को राजनीतिक ‘लाइन’ दिएर बिलखबन्दमा फसेको कम्युनिस्ट दललाई पनि प्रजातान्त्रिक बाटो देखाइदिए । यही बाटो संसदीय प्रजातान्त्रिक बहुदलीय प्रतिस्पर्धामा आएर कम्युनिस्टहरु बारम्बार सरकार बनाउन वा पुग्न सफल भए ।

तर, झन्डै २७ वर्षपछि एमाले बिलायो । जबज हरायो । यसको कारण सरकारमा जानु र पाउनु थियो । यतिबेला जबजले सरकार नदिने तर ‘जनताको जनवाद’ले दिने अवसर छोप्न एमालेसमेत जबजलाई तीलाञ्जली दिइयो । कम्युनिस्टहरुको मौकापरस्त अवसरवादी चरित्र यसरी पुनः प्रकट भयो । सरकारमा पुग्ने  अवसरका अघिल्तिर सिद्धान्त त त्यही अवसर छोप्ने साधन हो कम्युनिस्ट लागि ? अब सरकारी कम्युनिस्टका लागि जबज र प्रणेता मदन भण्डारीको सान्दर्भिकता सकियो । जबजअन्र्तगत नेकपा (एमाले)ले प्रजातान्त्रिक रुपान्तरण रोजेको विश्वास आर्जन गर्दै थियो । तर, अहिलेको दस्तावेजले त्यो विश्वास खण्डित गरिदिएको छ । कार्यकर्तालाई चाहिँ जेसुकै होस् सरकार भने बिगौती ठानिएको छ ।

यस्तो ऐतिहासिक पृष्ठभूमि रहेको नेपालका कम्युनिस्टको मूल प्रवृत्ति प्रजातन्त्र विरोधी, अवसरवादी र सुविधाभोगी हो । कुरा अत्यन्त क्रान्तिकारी गर्ने तर व्यवहार दमनकारी र भ्रष्ट  । यही कम्युनिस्ट सरकारको कृत्य हेर्दा स्पष्ट हुन्छ । सबै अधिकार केन्द्रीकृत गर्ने, स्वतन्त्रता विरोधी विधेयकहरु प्रस्तुत गर्ने र नागरिको स्वतन्त्र  आवाजलाई दुत्कार्ने सरकारी कम्युनिस्ट शैली आफैमा छर्लंग छ ।

अब त, मन्त्रिपरिषद्ले गरेको कुनैपनि निर्णयलाई अख्तियारले हेर्न नपाउने विधेयक बनाइएको छ । यसअघि नीतिगत निर्णयमात्र अख्तियारले छानबिन गर्न नमिल्ने  थियो । मन्त्रिपरिषद्को निर्णयलाई संविधान र प्रचलित कानुनभन्दा माथि राख्न खोज्नु निरंकुशता र यसको सोझो अर्थ, उद्देश्य नीतिगत साथै आर्थिक भ्रष्टाचार लक्षित हो ।

उल्लिखित पृष्ठभूमि लिएर आएको नवगठित सरकारी नेकपाले हालै प्रकाशित गरेको राजनीतिक दस्तावेजमा २७ वर्षदेखि स्वीकृत गरेको ‘बहुलवादी खुला समाज’ को मान्यता हटाएको छ । त्यस्तै, मुलुकको प्रत्येक प्रजातान्त्रिक आन्दोलन र वैचारिक स्वतन्त्रतालाई नेतृत्व दिएको नेपाली कांग्रेसलाई दस्तावेजमा समर्पणवादी, ढुलमुले र दलाल पुँजीवादलाई नेतृत्व गरिरहेको आरोप लगाइएको छ ।

लोकतान्त्रिक समाजवादको संवैधानिक मार्गअन्तर्गत चुनावी प्रतिस्पर्धाबाट झन्डै दुईतिहाइ मत प्राप्त कम्युनिस्ट सरकारको दलले दस्तावेजमा पुनःसाम्यवादलाई लक्ष्य बनाएर सबै प्रजातन्त्रवादी नेपालीलाई धम्की दिएको छ । मुख्यतः दस्तावेजका यी तीनवटै विषयले सरकारी नेकपा पुनः पश्चगमनतर्फ जाने बाटो खुलेको छ । राजनीतिक दलको मूलभूत सैद्धान्तिक मान्यता यस प्रकारको तरल वा ढुलमुले हुँदैन । सिद्धान्त जे मन लाग्यो त्यो लेखिदिने प्रवृत्ति नै अवसरवादको द्योतक हो जसले मौकापरस्त भएको सन्देश दिन्छ ।

नेपाली समाज सांस्कृतिक, विचार र विविध मान्यताले बहुलवादी हो । यस्तो यथार्थलाई दस्तावेजमा अस्वीकृत गर्नुले समाजले दिनसक्ने बहुल विकल्प निषेध भएको छ । संविधान बनाउँदा बहुलवाद राख्न नदिन सक्दो प्रयत्न गरेका कम्युनिस्टले अहिले आफ्नो दस्तावेजबाट बहुलतालाई निषेध गरेछन् । संविधानमा चाहिँ काँग्रेसको कारण उनीहरु सफल भएनन् । स्वीकृत मान्यतालाई हटाएर नेकपाले मुलुकको बहुल सभ्यताप्रति कम्युनिस्ट अधिनायकत्व लाद्न सक्ने अवसर खोलेको र आफ्नो पश्चगमन प्रवृति वा  अवसरवादी चरित्रलाई पुनर्पुष्टि गरेको छ ।

त्यो दस्तावेजमा नेपाली कांग्रेसलाई समर्पणवादीे, ढुलमुले र दलाल पुँजीवादीको नेता भनेको छ । यो प्रवृत्ति कांग्रेसमा होइन माथि लेखिएका राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रसंगले नेपालका कम्युनिस्टहरुको हो भन्ने पुष्टि भइसकेको छ । सिद्धान्तमा ढुलमुल र मौकाअनुसार समर्पण कम्युनिस्टहरुले देखाएको चरित्र हो । कांग्रेसको ओत लागेर यहाँसम्म आएको कम्युनिस्ट दलले ऐना होइन आफ्नो अनुहार पुछ्न वा सफा गर्न जरुरी थियो ।

विघटित माले (पछि एमाले) वा सात दलीय कम्युनिस्ट घटकको गठबन्धन २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेस र सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सहयोगी भयो । हिंसारत तर राजासँग वार्ता गरिरहेको नेकपा (माओवादी), नेकपा एमाले र अरु कम्युनिस्ट दलहरु पनि ०६२–०६३ को जनआन्दोलनमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सहभागी भएका हुन् । कम्युनिस्टले कांग्रेसको ओत पाएका अरु पनि ऐतिहासिक प्रसंग थुप्रै छन् ।

ती दुई दल आपसी विलयपछि बनेको नेकपा (नेकपा)सँग अब उत्तर खोजिन्छ – को, कसले, किन, कोसँग र केमा समर्पण गरे ? अहिले त्यही राजनीतिक ओत वा सुरक्षा दिने कांग्रेस यिनका लागि समर्पणवादी भएको छ । आफ्नो ऐना छैन सरकारी कम्युनिस्टसँग ?

रह्यो पुँजीवादी दलालको कुरा । कांग्रेसले लिएको खुला अर्थ राजनीतिको बाटोभन्दा भिन्न बाटो बनाउन वा  हिड्न सकेका छन् यी कम्युनिस्टले ? यिनको भीक्षाटन पनि प्रभावहीन छ । देशी, विदेशी र निजी लगानी घट्दो छ । देशको अर्थस्थिति ओरालो झर्दैछ । कार्यकर्तालाई अनियमित पैसा बाँड्ने र शिरमा भ्रष्ट्राचारको भारी बोकेको यो सरकार सीमान्त नागरिकलाई करलगायत महँगीको आर्थिक भार थपी रहेछ ।

स्वास्थ्य शिक्षाको क्षेत्रमा सक्रिय माफियालाई पोस्ने कानून यही कम्युनिस्ट सरकारले बनाएको होइन ? ‘डन’ भित्र्याउनेदेखि यस्ता कैयौँ उदाहरण छन् जसले कम्युनिस्ट सरकार दलाल पुँजीपतिको पकटमा रहेको स्पष्टै देखिन्छ । यस्ता यथार्थबीच अरुलाई आरोपित गर्नुअघि सबै दलहरुभन्दा क्रान्तिकारी, प्रजातन्त्रवादी र राष्ट्रवादी देखिन खोज्ने कम्युनिस्टले आफ्नो आँग छाम्नुपर्ने थियो, दस्तावेज लेख्दा ।

सबै छोडी ‘जनताको जनवाद’ लेखिएको यो दस्तावेज पनि अब हुने महाधिवेशनसम्मलाई भनिएको छ । त्यसपछि दस्तावेजी सिद्धान्तको उँट कुन ‘करवट’ बस्ने हो ? निश्चित छैन । अब भएन त सरकारी कम्युनिस्ट सिद्धान्तको हास्यास्पद विजोग ? झुठ त छदैछ, त्यसमाथि सिद्धान्त ‘पेन्डुलम् ।’
महाकालीमा असीमित पानी बगिसकेको छ । खोक्रो राष्ट्रवादी बखानमा मन्त्रमुग्ध नवगठित सरकारी नेकपाका नेताले दस्ताबेज लेख्नुअघि आफ्नो अतीत र इतिहास पढ्नुपर्ने थिएन र ? बाह्खरीबाट

सोमबार, साउन २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीका ग्रामीण कच्ची सडकमा राति गाडी चलाउन रोक
असार १५ मा हिलो खेल्ने बढे, खेती गर्ने घटे
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा प्यानल बनाउन नपाइने

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.