धनगढी, १० पुस
धनगढी उप–महानगरपालिकाको सहकार्य तथा ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढीको आयोजनामा शुक्रवार प्रमाणमा आधारित स्थानीय सरकार सञ्चालन प्रकृया सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
उप–महानगरपालिकाले सुशासन प्रवद्र्धनका लागि गरेका प्रयास तथा कार्यहरु र सुधार गर्नुपर्ने पक्षहरुमा सहभागिहरुले अन्तरक्रिया गरेका थिए । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले धनगढी उप–महानगरपालिकाले पूर्णरुपमा खुला सरकारको अवधारणालाई अंगिकार गरेको बताए । योजना तर्जुमा प्रकृया देखि हरेक कुरामा नागरिक सहभागितालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउदै नगरप्मुख वडले भने, पूर्वाधार ब्यबस्थापन प्रणालि ( आईएमएस) , सुशासन पोर्टलका साथै सुशासनका सबै टुल्सहरुको प्रयोग अभ्यास उप–महानगरपालिकाले गर्दै आएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले धनगढी उप–महानगरपालिकाले पारदर्शिताका लागि राम्रो अभ्यास गरेको बताए । उनले भने,‘तर पनि पूर्वाधार ब्यबस्थापन प्रणालि ( आईएमएस) लाई अपडेट गर्ने कुरामा अझै सुधार गर्नुपर्ने देखिन्छ ।
ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढीका अध्यक्ष दिर्घराज उपाध्यायले धनगढी उप–महानगरपालिकाले सुशासन र पारदर्शिताका लागि अपनाएका टुल्सहरुको बारेमा जानकारी भएका कुनैपनि ब्यक्तिले सूचनाकोहकका लागि निवेदन हाल्न नपर्ने बताए ।