धनगढी, ७ पुस/ सरकारले काठ दाउरा विक्री वितरण खोल्नुपर्ने माग गर्दै वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जालले आन्दोलनको घोषणा गरेको छ ।आन्दोलनको कार्यक्रम अन्र्तगत मंगलबार मुख्यमन्त्री कार्यालयमार्फत प्रधानमन्त्रीसहित विभिन्न निकायमा ध्यानाकर्षण पत्र बुझाइएको सञ्जालनका संयोजक पुष्कलबहादुर बमले बताए ।
उनका अनुसार बुधबारदेखि १० गतेसम्म राजनीतिक दल, प्रदेश, स्थानीय सरकार लगायतसंग जनजागरण अभियान सञ्चालन गर्ने, छलफल तथा अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको छ । यस्तै, ११ गते डिभिजन वन कार्यालय कैलाली, कञ्चनपुर र पहलमानपुरमा धर्ना, १३ गते जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरमा धर्ना, १४ गते सुदूरपश्चिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र १५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।
सञ्जालका संयोजक पुष्कलबहादुर बमले माग सुनुवाई नभए १६ गतेदेखि राजमार्ग अनिश्चितकालिन चक्का जाम गरिने बताए ।