धनगढी, ७ पुस/ प्रचण्ड–माधवले अब पनि हटाउन खोजे खतरनाक कदम चाल्ने ओलीको तयारी, सेना हाइअलर्टमा
काठमाडौं। संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले फेरि निहुँ खोजे कडा कदम चाल्ने तयारी गरेका छन्।
प्रधानमन्त्री ओलीले संकटकालदेखि सैनिक शासनसम्म लागु गर्नेबारे परामर्श गरेर तयारी गरिरहेको बालुवाटार स्रोतबाट बुझिएको छ।
सभामुखले विशेषाधिकार प्रयोग गर्ने, बहुमत सांसदहरु गएर संसद भवनमा बैठक बस्ने र अदालतबाट संसद विघटनको निर्णय उल्ट्याउने, प्रधानमन्त्री र राष्ट्रपतिलाई निलम्बन गर्ने चर्चा भइरहेका बेला ओलीले पनि संकटकालदेखि सैनिक शासनसम्मको विकल्प सोचेका हुन्। आज बसेको आफू पक्षीय सांसदहरुको भेलामा पनि ओलीले आफू कुनै हदसम्म पनि जानसक्ने संकेत गरेको एक निवर्तमान सांसदले बताए।
‘प्रधानमन्त्रीज्यू कुनै हालतमा छोड्नुहुन्न। अब पनि उहाँलाई हटाउने प्रयत्न भयो भने त्यसपछिको परिणामको भागिदार प्रचण्ड(माधव नै हुनेछन्,’ ती सांसदले भने। उनका अनुसार नेपाली सेना पनि विकसित परिस्थितिका लागि हाई अलर्टमा बसेको छ। त्यसो त ओलीले महिनौअघिको सचिवालय बैठकमै आफू नरहे कसैलाई पनि नरहने गरी कुर्सी भाचिदिने चेतावनी दिएका थिए।
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापा भन्छन्, ‘सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउन सक्छन्। अब संसद बैठक बोलाउँदै राष्ट्रपति र प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्छ। उपराष्ट्रपतिलाई कायममुकायम राष्ट्रपति बनाउनुपर्छ। त्यसमा विशेष प्रस्ताव प्रस्ताव लैजानु पर्यो् । यस्तै स्थितिमा अझ लोकतन्त्र खारिन्छ । को राष्ट्रपति जान्छ, को प्रधानमन्त्री हिँड्छ, त्यो हाम्रा लागि महत्वपूर्ण होइन ।
हाम्रो चासो यति मात्र हो, यही बाहनामा सैन्य शक्ति आउनु भएन । सैन्य शक्तिले धानेको प्रजातन्त्र हामीलाई चाहिएन।’ यसो गर्दा सैनिक शासन आउँछ कि भन्ने चिन्ता थापाले पनि गरेका छन्।