धनगढी, ५ पुस/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कर्ण थापाले केपी ओली नमर्नु नै उनको सबैभन्दा ठुलो गल्ती भएको बताएका छन् ।
आइतबार धनगढीमा आयोजित पार्टी एकताका लागि प्रदेश स्तरीय युवा दबाब अभियान बिषयक भेलामा प्रधानमन्त्री ओली निकट मानिने थापाले प्रधानमन्त्रीको बचाउ गर्दै उनका पछिल्ला कदमहरुप्रति सर्मथन जनाएका छन् ।
थापाले केपी ओली बाच्नु र मर्नुमा यो देशको राजनितिको केन्द्रबिन्दु बनेको भन्दै ओली नमर्नु नै गल्ती भएको बताए । उनले भने–‘सातौै राष्ट्रिय महाअधिवेशनको बेलामा केही नेताहरुले भन्ने गरेका थिए, केपी ओलीका बिचार ठिक छन् तर केपी ओली मरिहाल्नु हुन्छ, मर्ने मान्छेलाई किन नेता बनाउनु भन्दै हिड्नु हुथ्यो ।’
‘राजनितिक शास्त्र पढेका छौ भन्नेहरुले केपी ओली मर्ने भएकोले भोट नदिउँ भनेका थिए सातांैै राष्ट्रिय महाअधिवेशनमा’ थापाले भने ।
यस्तै थप प्रसंगमा बोल्दै नेता थापाले प्रधानमन्त्रीको संसद् विघटनको कदमको बचाउ गरेका छन् । उनले यो कदम प्रधानमन्त्री ओलीले बाध्यतावश अपनाउनुपरेको कदम भनी प्रतिक्रिया दिएका छन् ।
उनले जनताको जनमतलाई अनादर गरेर काम गर्न नदिने, बाधा–व्यवधान सिर्जना गर्ने, हातखुट्टा बाँध्ने, समाजवाद निर्माण गर्ने उद्देश्यले स्थापना भएको सरकारलाई कमजोर बनाउने पार्टीभित्रको खेल र देशविदेशी शक्तिहरूले साँठगाँठ गरेर गरिएको षड्यन्त्रपछिको बाध्यात्मक कदम भएको बताए ।
उनले जनताले यो सरकारले पाँच वर्षसम्म राम्रोसँग काम गरोस् भन्ने भए पनि आफ्नै दलभित्रबाट अप्ठ्यारोमा पारिएको बताए ।
युवा संघद्धारा आयोजित उक्त भेलामा ओली गुटका नेता कार्यक्रर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा अनेरास्ववियु संयोजक ऐन महर, युवा संघका उपाध्यक्ष रमेश पौडेल, पुर्व प्रतिनिधि सभा सासंद, प्रदेश सासंद र स्थानिय तहका जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो ।