धनगढी, ५ पुस: बाक्लो कुहिरोसँगै शीतलहरका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । गत बुधबारदेखि चिसो बढेपछि कैलाली र कञ्चनपुरका मुक्तकमैया, बाढीपहिरो पीडित र सुकुम्बासी बस्तीका विपन्न परिवारको दैनिकी थप कष्टकर बनेको हो । आगो बाल्न दाउरा, मुढासमेत पाउन नसकेको उनीहरूको गुनासो छ । बसोबासको माग गर्दै आन्दोलन गर्न चुरेबाट कैलालीको गौरीगंगा–१ मा रहेको सामुदायिक वन छेउमा आई त्रिपाल र टहरा बनाई बसेका पहिरोपीडित । बढ्दो चिसोले उनीहरुको दैनिकी थप कष्टकर बनेको छ ।
धनगढी पुरानो एयरपोर्टको मुक्तकमैया शिविरका हरिराम चौधरीले न्यानो हुने गतिलो ओढ्ने, ओछ्याउने, लगाउने लुगा तथा आगो ताप्न दाउरासमेत पाउन नसकेको दुखेसो पोखे । ‘दाउरा पनि कहाँबाट ल्याउने ?,’ उनले भने, ‘दाउरा बिक्री वन कार्यालयले बन्द गरेको छ भन्ने सुन्यो ।’डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले सरकारले काठदाउरा विक्रीमा प्रतिबन्ध लगाएका कारण उपभोक्तालाई चिसोका बेला पनि दाउरा उपलब्ध गराउन नसकिएको बताए ।
संघीय सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका सामुदायिक वनमा अनियमितता भएको गुनासो आएपछि गत जेठदेखि काठदाउरा विक्री र ढुवानीमा समेत रोक लगाएको छ । उक्त निर्णयले दाउराको समेत आपूर्ति रोकिएको उनले बताए ।
सुरक्षित बासको माग राख्दै चुरे गाउँपालिकाबाट आन्दोलनका लागि तराई झरेका पहिरोपीडितहरूले पनि चिसो छल्न दाउरासमेत नहुँदा समस्या भएको बताएका छन् । गत साउनमा पहिरोबाट विस्थापित झन्डै एक सय परिवार संघर्ष समिति नै बनाएर सरकारलाई दबाब दिन भन्दै गौरीगंगा–१ पशुपति सामुदायिक वन छेउमा आएर बसेका हुन् । स्थानीयले वन क्षेत्र कब्जा गर्न आएको आरोप लगाउँदै पानी र दाउरासमेत दिन नमानेको संघर्ष समिति अध्यक्ष टीकाराम कार्कीले बताए ।
चिसोका कारण अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा पनि बिरामीको संख्यामा वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार बुधबार यो वर्षको सबैभन्दा कम ५.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । शनिबारको न्यूनतम तापक्रम ७.७ डिग्री थियो । अघिल्लो वर्ष कैलालीको न्यूनतम तापक्रम २.२ डिग्रीसम्म झरेको थियो । अझै केही समय चिसो कायम रहने भएकाले तापक्रम घट्ने चौधरीले बताए ।
कान्तिपुरबाट, मोहन बुढाऐर