कैलाली, २८ मंसिर/ तोरीमा कीराको प्रकोप बढेपछि अनुगमन गर्न तोरीबारीमै कृषि प्राविधिक पुगेका छन् । कृषि विकास शाखा, बाली संरक्षण प्रयोगशाला कञ्चनपुर, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका प्राविधिकको संयुक्त टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिकामा अध्ययन अनुगमन गरेको छ ।
कृषि प्राविधिकसहितको टोलीले तोरीबारीमा कीराले गरेको असर र कीराका बारेमा अध्ययन गरेको हो । अध्ययनका क्रममा कञ्चनपुरको पुनर्वास नगरपालिकाका किसानको तोरीबारीमा नेपाली फौजी कीरा, तोरीको करौंते झिंगा र बन्दाको पुतलीले आक्रमण गरेको निष्कर्ष कृषि प्राविधिक टोलीले निकालेको छ ।
टोलीले किसानहरुलाई तोरीको क्षतिको तथ्याङ्क संकलन गरेर तीन दिनभित्र प्रदेश कृषि विकास निर्देशनालय दिपायल र बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरमा पठाउन पुनर्वास कृषि विकास शाखालाई निर्देशन दिएको छ ।
यस्तै कीराबाट तोरीबारी जोगाउन सुरुवातमा खेतमा सिँचाइ गर्ने, निमजन्य विषाधी प्रयोग गर्ने र यति गर्दा पनि कीराको प्रकोप नघटेमा रासायनिक विषाधी प्रयोग गर्न प्राविधिकहरुले सिफारिस गरेका छन् ।
तोरीबारीमा देखा परेका कीरा विस्तारै गहुँबालीमा पनि देखिन थालेको बताउँदै बाली संरक्षण प्रयोगशाला कञ्चनपुरका प्राविधिक सिद्धराज उपाध्यायले भने,‘अहिले तोरी बारीमा देखिएका कीरा विस्तारै गहुँ बालीमा पनि देखिन थालेका छन् ।’ तोरी सखाप पारेर कीरा विस्तारै गहुँ बालीमा सर्ने हुँदा समयमै उपचार गर्नुपर्ने उनले किसानलाई सुझाए ।