धनगढी, २६ मंसिर/ कैलालीको गौरीगंगा नगरपालिका–९ मुसरीयाका स्थानिय लोक देउवाको घर सोही वडा वडासदस्य गोमा भण्डारीले भत्काएपछि परिवार बिचल्लीमा परेका छन् । नेकपाबाट निर्वाचित वडा सदस्य भण्डारीले उक्त घर भएको जग्गा आफ्नो भएको दाबी गर्दै भाडामा कामदार लगाएर भत्काउन लगाएकी हुन ।
घर भत्काएपछि बिचल्लीमा परेका देउवा परिवारले न्यायीक समिति र प्रहरीबाट न्याय नपाएपछि जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिने तयारीमा छन् । वडा सदस्यले आफु जनप्रतिनिधी भएकै कारण दादागरि शैलीमा १० बर्षदेखी बस्दै आएको घर भत्काएको पिडित परिवारको आरोप छ । प्रति जग्गामा घर बनाएर दश बर्षदेखी बस्दै आएको र अहिले आफ्नो जग्गाभन्दै घर भत्काएको घरधनी देउवा बताए ।
उनले भने–‘हामीले लालपुर्जा देखाउनु जग्गा लैजानु भन्दापनि देखाउनु हुन्न, अमिन ल्याएर नापौ भन्दा समेत वेवास्ता गर्दै दादागिरी शैलीमा आएर घर भत्काएर गए ।’
उनले वडा कार्यालय, प्रहरी र नगरपालिका न्यायीक समितीले आफ्नो मुद्धामा कुनै सुनवाइ नगरेको भन्दै प्रशासनमा उजुरी दिन लागेको बताए । आफ्नो घर भएको जमिन प्रती जग्गा भएको उनको दाबि छ ।
न्यायीक समिति संयोजक अञ्चला चौधरीले उजुरी आएको भएपनि आफुले हेर्न नमिल्ने बताइन् । उनले कुनै व्यक्तिको घर भत्काउदा जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने निमय रहेको र अनुमतिनै नलिएर भत्काएको कारण देउवा परिवारलाई प्रशासनमा उजुरी दिन सिफारिस गरेको बताइन् ।
यता वडा सदस्य गोमा भण्डारीले भने जग्गा आफ्नै भएको र देउवा परीवारलाई ५ बर्षकोलागी भाडामा दिएको बताउदै आएकी छन्। जग्गा भाडामा दिनेबेला मौखीक सम्झौता मात्रै भएको र अहिले जग्गा हड्प्न खोजेपछि घर भत्काएको उनको भनाई छ।