धनगढी, २४ मंसिर/ बैतडीमा आज एक नवजात शिशु (छोरा)को शव फेला परेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका ६ सेटिगाउँ भन्ने ठाउँमा नवजात शिशु मृत फेला गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दिउँसो स्थानीय बासिन्दाले गाउँनजिकै मृत अवस्थामा शिशुको शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । उहाँले भन्नुभयो,“ढुंगाले माथिबाट छोपेको अवस्थामा शिशुको शव फेला परेको छ, कुनै महिलालाई गर्भपतन गराएर फालेको हुनसक्छ” उक्त घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वको टोली घटनास्थल पुगेको छ ।
शिशुको अवस्था हेर्दा गएराती फालेको जस्तो देखिएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक साउँदले बताउनुभयो। उहाँले भन्नुभयो,“ बच्चाको शरिरमा बाहिर देखिने कुनै चोटपटक छैन, अनुसन्धान सुरु गरेका छौं ”
नवजात शिशु कसले र किन फालेको भन्ने खुल्न सकेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।