धनगढी २२, मंसिर/ विगतका वर्षभन्दा यस वर्ष सरकारले धानको खरिद मूल्य तोकेसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा किसानको लाइन देखिन थालेको छ ।
कैलालीको धनगढी, मोहनपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा धान बिक्री गर्ने किसानको लाइन छ । धान बिक्री गर्न आएका कृषकलाई चार दिनसम्म खुला आकाशमुनि पालो कुर्नुपर्ने बाध्यता छ ।
यस वर्ष व्यापारी र सरकारले तोकेको मूल्यमा अन्तर धेरै भएपछि खाद्यमा कृषकको भिड लागेको हो । सरकारले मध्यम धानको मूल्य प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २७ सय ३५ रुपैयाँ तोकेको छ । स्थानीय व्यापारीले भने बढीमा २२ सय रूपैयाँसम्ममा खरिद गरेका छन् ।
धनगढीको मोहनपुरमा रहेको खाद्य डिपोमा धान बेच्न आएका किसानहरु चार–पाँच दिनसम्म त्रिपालमुनि सुतेर धान बिक्री गरिरहेका छन् । गोदाम परिसरमा गोरुगाडादेखि ट्याक्टरमा धान लोड गरेर किसान लाइनमा छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका–८ का किसान राजु चौधरी चार दिनअघि धान बिक्री गर्न कम्पनीको गोदाममा पुगेका थिए । निजी व्यापारी र कम्पनीको मूल्यमा अन्तर भएपछि उनी पहिलोपटक पुगेका हुन ।
यस्तै, बेलौरी–६ कै हरिद्वारी राना पनि आएको चार दिन भएको छ । उनको पनि पालो आएको छैन । ट्याक्टरमा लोड गरेर धान ल्याएका उनले पनि गोदाम परिसरमै खाना पकाउने र ट्याक्टरमा सुत्ने गरेका छन् ।
कञ्चनपुरकै छविलाल रानापनि तीन दिनदेखि धान बेच्न लाइनमा बसेका छन् । उनले दिनभरि गोरुगाडासहित लाइनमा बस्नुपर्ने हुँदा आफू के खाने र गोरुलाई के खुवाउने भन्ने चिन्ता लाग्ने गरेको बताए ।
खाद्यले समयमै धान खरिद नगर्दा समस्या आएको कृषकको भनाइ छ ।
धान बिक्रीबाट आएको रकमले गहुँ खेती गर्नुपर्ने बाध्यता किसानलाई छ । धेरैजस्तो किसानले खाद्यको भर नपरी अन्य व्यापारीलाई धान बिक्री गरेका छन् । लागतअनुसारको मूल्य पाउँदा किसान खुसी भएका छन् ।
खाद्यको प्रादेशिक कार्यालय धनगढीले चालू आर्थिक वर्षमा कैलाली र कञ्चनपुरबाट ७० हजार क्विन्टलभन्दा बढी धान खरिद गर्ने लक्ष्य लिएको छ ।
धान बिक्री गर्ने किसान धेरै हुँदा व्यवस्थापनमा केही समस्या भएको धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले बताए ।
बेलैमा मलखाद नपाइने, धान खरिद नहुने, उत्पादन बिक्री गर्नकै लागि धेरै दुःख–कष्ट भोग्नुपर्नेजस्ता समस्या किसानले खेपिरहेका छन् । किसानका लागि राज्यपक्षले अब गम्भीर भएर सोच्न जरुरी छ ।