धनगढी १६ मंसिर धनगढी उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा प्रहरीले नयाँ सीसी क्यामेरा जडान गरेको छ । धनगढीमा हुने आपराधिक गतिविधी नियन्त्रण तथा चोरी, डकैती, दुर्घटना गराएर भाग्नेलाई नियन्त्रण तथा घटनाको अनुसन्धान गर्नेलगायत उदेश्यले नयाँ सीसी क्यामेरा जडान गरिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमिक्त सचिव तेजप्रकाश जोशीले जिल्ला प्रहरी कार्यालयलाई सीसी क्यामेरा खरिदको लागि ३० लाख बजेट अख्तियारी दिएको बताए । हाल जडानको कार्य सकिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले यसअघि १२ स्थानमा मात्र सीसी क्यामेरा जडान गरिएकोमा ७ वटा थप्दै १९ स्थानमा सीसी क्यामेरा जडान गरिएको जानकारी दिए । पहिले जडान गरिएका १२ सीसी क्यामेरा काम नलाग्ने भएको भन्दै १९ वटै नयाँ सीसी क्यामेरा जडान गरिएको उनको भनाइ छ ।
उनका अनुसार विभिन्न घटनालाई निगरानी गर्न तथा अनुसन्धानलाई सहज बनाउन जिल्ला प्रहरी कार्यालयदेखि त्रिनगर–गौरीफन्टा सीमा क्षेत्रसम्म सीसी क्यामेरा जडान गरिएका हुन् ।
आपराधिक घटनाको निगरानी गर्न सीसी क्यामेरा जडान गरिएको हो ।