धनगढी ,१६ मंसिर – भारतको पलियामा अलपत्र परेका नेपालीहरु अहिले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय धनगढीमा पुगेका छन् । उनीहरु जिल्ला प्रहरी कार्यालय धनगढीमा आफूहरुलाई ठगी गरेर अलपत्र पारेको ट्राभल्स एजेन्सीविरुद्ध उजुरी दिन पुगेका हुन् ।
न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट लिएर भारत गएका उनीहरूलाई पलियामै अलपत्र छाडिएपछि मंगलबार बिहान १ बजे १३० जना यात्रु धनगढी फर्केका थिए । रोजगारीका लागि भन्दै भारतका विभिन्न जान हिँडेका उनीहरुलाई धनगढीबाट बर्दादेवी टूर एण्ड ट्राभल्स एजेन्सीले लगेर भारतको पलिया सहर नजिकै शारदा व्यारेजमा अलपत्र छाडेको थियो ।
अलपत्र छाडेपछि नेपालीहरु मंगलबार बिहान १ बजे सार्वजनिक बस रिर्जव गरेर पलियाबाट सीमा क्षेत्र गौरीफन्टा पुगेका थिए । गौरीफन्टाबाट उनीहरु बिहानको १ बजे हिँडेर धनगढी बसपार्कस्थित बर्दादेवी टूर एण्ड ट्राभल्सको टिकट काउन्टर न्यू अछाम नेशनल गेष्ट हाउसमा पुगेका थिए । गेष्ट हाउस अगाडि रातभर चिसोमा बसेका उनीहरु मंगलबार बिहान भने जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन हिँडेका हुन् ।
अलपत्र परेका नेपालीहरु निवेदन दिन जिल्ला प्रहरी कार्यालय पुगेको बताउँदै प्रहरी प्रमुख एसपी अुनपशमशेर जबराले सरकारी वकिलसँग सल्लाह गरेर कानुनी दायरामा ल्याउने बताए । उनले भने,‘हामी यस विषयमा सरकारी वकिलसँग सल्लाह गर्दैछौँ, सोही अनुसार कानुनी कारबाही अगाडि बढाउँछौँ ।’
यसअघि पनि बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.ले भारतको मुम्बई, बैंङ्गलोर, रत्नागिरी, पुना लगायतका सहरका लागि भनेर पठाएका यात्रुहरु पलिया र पुनामा अलपत्र परेका थिए । मंसिर ७ गतेका दिन सोही ट्राभल्सले धनगढीबाट बैंङ्लोरका लागि पठाइएका २३ जना यात्रुलाई भारतको पलियास्थित भीरामा अलपत्र छाडेको थियो ।