धनगढी, १० मंसिर/ मंगलबार राति ९ बजेर ५५ मिनेटमा पूवपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा ना ३ ख ५९४२ नम्बरको ट्रकले सु.प.प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकल चालक गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अर्जुन चौधरी र मोटरसाइलकमा सवार २४ वर्षीय प्रेम चौधरी दुर्घटनामा गम्भीर घाइते भए ।
दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ईलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक भरत चौधरीको खोजी सुरु भयो । सेट मोनिटरिङमा उनी सम्पर्कमा आएनन् । गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा मृत्यु भयो र पनि प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्कमा आएनन् । ईलाका प्रहरी कार्यालयका इञ्चार्ज नै सम्पर्कविहिन भएपछि रातारात कैलाली प्रहरीमा हल्लाखल्ला भयो ।
एक जना प्रहरी अधिकारीले भने, ‘डिएसपी साप सम्पर्कविहिन भएपछि कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली राति नै परिचालन गरियो ।’ यता प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुवेदीले सेट मोनिटरिङमा नभेटिएपछि रातिदेखि नै खोजी भएको र खोजीकै क्रममा डिएसपी चौधरी आज बिहान कैलालीकै पहाडी क्षेत्र बुढितोलमा फेला परेको जानकारी दिए ।
स्रोतका अनुसार डिएसपी चौधरी आज विहान बुढितोलाको एक होटलमा युवतीसंग रंगेहात फेला परेका हुन् । उनी सवार मोटरसाइकल होटल अगाडि भेटिएको थियो ।
यस्तो थियो घट्ना !
ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी हिजोराती एकाएक सम्पर्क विहीन भए । राती ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीकोलागी जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठुलो संख्यामा प्रहरी परिचालन गरियो । कैलाली प्रहरीमा हलचल मच्चियो भने प्रहरी अधिकृतहरु तनाबमा परे ।
कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राती नै टोली खटाईयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरियो ।
तर प्रहरी नायव उपरीक्षक चौधरी आज बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतिसंग फेला परेका छन् । स्रोतका अनुसार उनी ‘केटी’ सहित बिहान बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन ।
‘केटी लिएर बुढीतोला जानु भएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नु भयो होला, यता सम्पर्क विहीन भएपछि खोजी हुन थाल्यो ।’ स्रोतले दिएको जानकारी अनुसार उनि केटीसंग सहित रंगेहात समातिएका हुन । प्रहरीले उक्त घट्नालाई लुकाउन खोजीका छन् ।
यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहंले नायव उपरीक्षक चौधरी आज बिहान आफै सम्पर्कमा आएको बताएका छन् । युवतीसंग भेटीएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भईरहेको उनले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक सिहंल भने–‘सम्पर्कविहीन भएपछि खोजी गरेका हौं, उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नु भएको छ ।’
उनका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भनेपनि उनीसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन् । चौधरीलाई अहिले जिल्ला प्रहरीका कार्यालय कैलालीमा राखीएको छ ।