धनगढी, १० मंसिर/सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पहिलो चौमासिकको खर्च विवरण सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन मार्फत आर्थिक मामिला तथा योजना झपट मन्त्री बोहराले पहिलो चौमासिकमा यस वर्ष खर्च वृद्धि गरेको बताए ।
मन्त्री बोहराले प्रदेश सरकारले पहिलो चौमासिकमा ६।२९ प्रतिशत अर्थात २ अर्व ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको बताए । चालू आर्थिक वर्ष २०७७÷०७८ को प्रथम चौमासिक सम्मको बजेट खर्च र राजश्व सङ्कलनको अवस्था सार्वजनिक गर्दै उनले यस वर्ष गत वर्ष भन्दा १।७६ प्रतिशतले खर्च वृद्धि भएको बताए ।
गत वर्ष पहिलो चौमासिकमा कुल बजेटको ४।५३ प्रतिशत मात्रै खर्च भएको थियो । यस वर्ष चालु तर्फ १ अर्व १० करोड ४७ लाख ५० हजार अर्थात् ६।६५ प्रतिशत र पुजिगत तर्फ ९९ करोड ३८ लाख ७६ हजार अर्थात् ५।९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले जानकारी दिए ।
गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तर्फ ५।४० प्रतिशत र पुँजीगत तर्फ ३।५२ प्रतिशत मात्रै खर्च भएको थियो ।
प्रदेश अर्थमन्त्री बोहराले यस वर्ष चालु तर्फ १।२५ र पुजिगत तर्फ २।४१ प्रतिशतले खर्च बढी भएको जानकारी दिए ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्व ३८ करोड १३ लाख ५८ हजार बजेट विनियोजन गरिएको थियो । मन्त्री बोहराले यस वर्ष ९० प्रतिशत बढी बजेट खर्च गर्ने दाबी गरेका छन् । पहिलो चौमासिकमा प्रदेश सरकरको बजेट खर्च समेत सन्तुष्टिजनक रहेको उनले बताए ।