धनगढी, ५ मंसिर/ कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का वडाध्यक्ष ५५ वर्षीय कृष्णबहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ ।
वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रूखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल मृतक वडाध्यक्षको घरबाट एक किलोमिटरको दूरीमा छ। बिहान ७ बजेतिर घरबाट निस्किएका वडाध्यक्ष रोकाया बेलडाँडी गाउँपालिका–५ स्थित बाबाथान मन्दिरनजिकै रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा भेटिएका हुन्।
बझाङ पुख्र्यौली घर भएका रोकाया लक्ष्मी पुजाका दिन सडक दुर्घटनामा परेका थिए।
‘त्यस्तो कारण केही पनि थिएन, ’ मृतक वडाध्यक्षका नातिले भने, ‘बाजेले हामीसँग पनि कुनै कुरा गर्नुभएको थिएन । राम्रै कुरा गर्नुहुन्थ्यो । बिहान मन्दिर जान्छु भनेर घरबाट निस्किनुभएको हो ।’
मोटरसाइकल अनियन्त्रित भएपछि भएको दुर्घटनामा परी निधारमा चोट लागेको थियो । उनको निधारमा ५ वटा टाँका लागेको उनका नातिले बताए।