कैलाली, ५ मंसिर/ कञ्चनपुरमा शुक्रबार रूखमा झुण्डिएको अवस्थामा एकजना जनप्रतिनिधिको शव भेटिएको छ। बेलडाँडी गाउँपालिका(५ का वडाध्यक्ष ५५ वर्षीय कृष्णबहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए।
वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रूखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल मृतक वडाध्यक्षको घरबाट एक किलोमिटरको दूरीमा छ। बिहान ७ बजेतिर घरबाट निस्किएका वडाध्यक्ष रोकाया बेलडाँडी गाउँपालिका–५ स्थित बाबाथान मन्दिरनजिकै रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा भेटिएका हुन्।
अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी थापाको प्रहरी टोली घटनास्थलतर्फ हिँडिसकेको बताइएको छ।