बेलौरी २३ कार्तिक- कञ्चनपुरमा हतियार सहित भारतीय एसएसबी नेपाली भूमीमा प्रवेश गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।सीमा स्तम्भको निरीक्षण गर्ने भन्दै हतियार सहित एसएसबी नेपाली भूमीमा प्रवेश गरेपछि स्थानीयले विरोध गर्दै उनीहरुलाई भयवित हुनेगरी अबदेखि नेपाली भूमीमा प्रवेश नगर्न आग्रह समेत गरेका छन् ।
अन्तराष्ट्रिय सीमा निगरानी समूहका सदस्य हरिश पन्तले वषौँदेखि सीमा विवाद रहेको उक्त क्षेत्रमा भारतीय एसएसबी हतियार सहित प्रवेश गरी एकतर्फी रुपमा नापजाँच गरिरहेको बताए ।बेलौरी नगरपालिका वडा १० को नेपाल भारत सीमा स्तम्भ ३१, ३२ र ३३ भएको क्षेत्रमा हतियार सहित आएका एसएसबीले एकतर्फी रुपमा भूमी नापिरहेको पाईएपछि उनीहरुलाई सम्झाईबुझाई गरिएको बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत बोलाइ स्थानीयले एसएबसीलाई सम्झाएर उप्रान्त जथाभावी नेपाली भूमीमा प्रवेश नगर्न आग्रह गरिएको पन्तले बताए ।
यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा स्तम्भको नियमित निरीक्षणका क्रममा एसएसबी सीमा क्षेत्रमा आएको भएपनि पूर्व जानकारी नहुँदा स्थानीयले विरोध गरेको बताए । उनले दुवै देशका तर्फबाट सीमा स्तम्भको बेलाबेला स्थलगत निरीक्षण गर्ने काम संयुक्त र एकतर्फी रुपमा हुदै आएको जनाउँदै अस्वभाविक कुरा भने नरहेको बताए । तर अबदेखि पूर्व जानकारी गराएर मात्र निरीक्षणमा आउन एसएसबीलाई आग्रह गरिएको प्रजिअ महतोले बताए ।