• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कम्युनिष्ट पार्टीको पाठशालाले पढाउने पाठ

मुमाराम खनाल

कम्युनिष्ट पार्टी पाठशालाको खास कुरा गर्नु भन्दा अगाडि एउटा बालकको पाठशाला अनुभवबारे हल्का रमाइलो कुरा सुनौं। एउटा बालकले विद्यालयमा सधैँ शिक्षकबाट पिटाई खाँदो रहेछ। उसले विद्यालय भनेको शिक्षकले पिट्ने ठाउँ भन्ने बुझेछ। उसलाई विद्यालय जान मन पर्ने कुरै भएन। तर उसको बाबुले उसलाई विद्यालय पठाउनको लागि सधैँ सम्झाउँदो रहेछ। ‘हेर, बाबु ! तिमीलाई पढाउनको लागि धेरै शुल्क लाग्छ। विद्यालयले मलाई लुटिरहेको छ। तिमी विद्यालय जानै पर्छ। तिमीले पढ्नै पर्छ।’

बाबुको वाध्यता बुझेपछि बालक नचाहँदा नचाहँदै पनि विद्यालय जाँदो रहेछ। एक दिन बालकको घरमा एक जना पाहुना आएका रहेछन्। बालक विद्यालय जाने समयमा अँध्यारो मुख लगाएको देखेपछि पाहुनाले सम्झाउँदै भनेछन्- विद्यालय जाँदा पनि यसरी अँध्यारो मुख लगाउने हो ? भन त बाबु विद्यालयले के गर्छ ? बालकले झनै अँध्यारो मुख लगाउँदै आफूले भोगेको र बुबाबाट सुनेको जवाफ दिएछ, ‘विद्यालयले मलाई पिट्छ र मेरो बुबालाई लुट्छ।’ बालकको जवाफ सुनेर पाहुना अवाक् भएछन्। कम्युनिष्टहरूको स्कूल विभाग ठ्याक्कै यस्तै छ।

प्रसङ्ग नेकपा अर्थात नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभागको हो। नेकपाभित्र पोहोर सालदेखि जति मिलाउन खोजे पनि थाती रहेका विभिन्न पदहरूमा भागबन्डा चलिरहेको छ। यस्तो भागबन्डा चली रहँदा तानातान र हानाहान हुनु कुनै नौलो कुरा होइन। तर पार्टी स्कूल विभागको जिम्मेवारी लिने सवालमा भएको तानातानमा भने अलिकति नौलो र रोचक पक्ष छ।
त्यसो त नेपाल कम्युनिष्ट पार्टी सरकारमा भएकोले पार्टीका हरेक पदहरूमा भागबन्डाको अर्थ र महत्व हुनु सजिलैसँग बुझिने कुरा हो। त्यसमा पनि दुइवटा पार्टी मिलेर बनेको हुनाले दुवै पूर्व पार्टीको अनुपात मिलाएर भागबन्डा गर्नु झनै सजिलोसँग बुझिने कुरा हो। र, यस्ता भागबन्डाहरुमा मुख्य नेताका नजिकका मुख्य नेताहरूले मुख्य जिम्मेवारी पाउने कुरा पनि स्थापित पार्टी संस्कृतिकै कुरा भइहाल्यो। स्कूल विभागको नेतृत्वमा भइरहेको तानातान पनि त्यसै प्रसङ्गको लहरो हो।

तानातानको अन्तर्यमा जानु भन्दा अगाडि यस आलेखमा प्रयुक्त ‘कम्युनिष्ट पार्टी’को सन्दर्भमा एउटा सिमा रेखा कोरिदिएर मात्र आफ्नो विभाजन रेखा कोर्न चाहन्छु। यस आलेखमा प्रयुक्त ‘कम्युनिष्ट पार्टी’को अर्थ सिद्धान्तको कोणबाट परम्परावादी माक्र्सवादी कम्युनिष्ट होइन। राज्यसत्ताको चरित्रको कोणबाट परम्परावादी लेनिनवादी र माओवादी कम्युनिष्ट पनि होइन। पाठकको सजिलोको लागि यहाँ मैले प्रयोग गरेको ‘कम्युनिष्ट पार्टी’ भन्ने शब्दावलीलाई यसरी बुझिदिन आग्रह गर्दछु। यहाँ प्रयुक्त ‘कम्युनिष्ट पार्टी’ भन्नाले एकातिर खास कम्युनिष्ट पार्टीमा नहुनु पर्ने सबै अवयव भएको र अर्कोतिर खास लोकतान्त्रिक पार्टीमा हुनैपर्ने खास अवयव नभएको नेपालको कम्युनिष्ट पार्टी भनेर बुझ्नुपर्नेछ।

अब चर्चा गरौँ, स्कूल विभागमा तानातान किन ? किनकि कम्युनिष्ट पार्टीको पाठशाला भनेको पार्टी कब्जा गर्नको लागि गुटबन्दी गर्ने औपचारिक थलोको रुपमा बुझिने गरिएको छ। अथवा नेताको भनाइ र गराइ यस्तै देखिँदै र गरिदै आएका छन्। र, यही औपचारिक थलोबाट कालान्तरमा पार्टी कब्जा गर्ने कक्षा सुरु हुन्छ। यहाँ पार्टी कब्जा गर्नु भनेको अमुक नेताको पार्टी बनाउनु हो। अमुक नेताको पार्टी बनाउनु भनेको अमुक नेताको गुट बलियो बनाउनु हो। पार्टी पाठशालाको मुख्य काम भनेको एउटा नेताको सोंचलाई गुटको विचार र उक्त गुटको विचारलाई पार्टीको सिद्धान्तको रुपमा स्थापित गर्नु हुन्छ। त्यसै कारण कम्युनिष्ट पार्टीको स्कूल विभागमा तानातान हुन्छ। र, जुन गुटले स्कूल विभाग हत्याउँछ, त्यस गुटको आंशिक विजय भएको ठानिन्छ।

विद्यालयबारे माथिको बालकले जस्तै कम्युनिष्ट पार्टीको स्कूलबारे उनीहरूका कार्यकर्तालाई सोध्यो भने भिन्न रुपमा तर त्यही बालकको जस्तै जस्तै जवाफ आउनेछ। माथिल्लो नेताको नक्कली गुणगान, आत्मप्रशंसा र गुट निर्माणको लागि पार्टीको पाठशालामा दिनहुँ हजारौं नेता र कार्यकर्ताहरु दिक्षित हुन्छन्। आलोचनात्मक चेतको वन्ध्याकरण, एकोहोरो सिद्धान्त अन्धता र व्यक्तिवादको आत्मवंचनामा दिक्षित कार्यकर्ताहरूको उत्पादन कम्युनिष्ट स्कूलको दुर्भाग्य रहँदै आएको छ। यसले पार्टीको आकारलाई फैलाउने तर लोकतन्त्रको आचारलाई खुम्च्याउने विभाजन रेखा कोरिरहेको छ।

कम्युनिष्ट पाठशालामा अझ रोचकको कुरा के छ भने प्रत्येक नेताले आफैलाई कत्ति पनि थाहा नभएको विषय पठाउँछ। जस्तोसुकै पृष्ठभूमिबाट आएको भए तापनि ‘माथिल्लो पदमा रहेको नेताले सबै विषय जानेको हुन्छ’ भन्ने भयङ्कर खतरनाक पाठ नै कम्युनिष्ट पाठशालाको पहिलो पाठ हो। शिशु कक्षामा यस्तो गलत पाठ कण्ठ गरेपछि हरेक नेतालाई जसरी भए पनि माथिल्लो पदमा जानुपर्ने वाध्यता हुन्छ। कम्युनिष्ट पार्टीको तल्लो कमिटीमा लामो समयसम्म रहिरहनु भनेको त्यत्तिकै लामो समयसम्म ‘अज्ञानी’ भइरहनु जस्तै हो। कम्युनिष्ट पार्टीको स्कूल विभागले कस्तो प्रकारको अभ्यास गर्छ त ? यसको चर्चा नगरीकन कम्युनिष्ट पार्टीको स्कूलबारे हाम्रो ज्ञान अधुरै रहनेछ।

पहिलो, सिर्जनशील विरोधी कर्म कम्युनिष्ट पार्टीको पाठशालाले सिकाउने एउटा सनातन पाठ हो। कम्युनिष्ट पार्टीका केही नेताहरूले आफ्नै सामान्य एक जना साथीलाई उपल्लो महामानव भएको उद्घोष गर्छन्। र, उक्त महामानव सबै प्रकारका मानवीय कमजोरीबाट माथि रहेको घोषणा गर्छन्। कथित रुपमा सर्वहारा वर्गको मुक्तिदाताको रुपमा उसको प्रशंसा सुरु हुन्छ। संपूर्ण पार्टी मिलेर बनाएको महामानवले स्वाभावजन्य मानवीय गल्तिहरू समेत लुकेर गर्नुपर्ने हुन्छ। जुन दिन उक्त महामानवका स्वाभाविक मानवीय गल्तिहरू पार्टीभित्र देखिन थाल्छन्। उ प्रतिको विभ्रम भत्किन थाल्छ। एकथरीले देवत्वकरण गरिरहने र अर्काथरीले राक्षसीकरण गर्ने ‘महान बहस’को सुरुवात हुन्छ। यसलाई पार्टीभित्रको अन्तरसंर्घष, जनवाद र केन्द्रीयताको सन्तुलन तथा नेतृत्वको रक्षा र स्थापनाको पहेली बनाएर पस्किइन्छ।

यसलाई कथित उच्च कोटीको वैचारिक बहसको संज्ञा दिइन्छ। तर यथार्थमा यो वैचारिक बहसभन्दा बढी अमुक नेताको व्यक्तिगत महत्वाकाङ्क्षा र पार्टीको नेतृत्व कब्जा गर्ने षड्यन्त्रको हिस्सा मात्र हुन्छ। जानेर वा नजानेर कम्युनिष्ट पार्टीको माथिदेखि आधार तहसम्मका नेता, कार्यकर्ता र समर्थकहरू दुइ वा त्यसभन्दा बढी गुटहरूमा बाँडिन्छन्। र, हरेक व्यक्तिहरू भिन्न भिन्न नेताहरूको समुहमा बाँडिएपछि स्वभावत भिन्न भिन्न गुटहरू बन्छन्। त्यसको निरन्तर अभ्यासले गुटहरू स्थायी बन्छन्। एउटा गुटको सदस्यले अर्को गुटको सदस्यलाई शत्रु देख्न पुग्छन्। बरु आफ्नो पार्टी बाहिरको व्यक्तिलाई विश्वास गर्छन्। तर विरोधी गुटको व्यक्तिलाई कुनै हालतमा विश्वास नगर्ने परिस्थिति उत्पन्न हुन्छ।

पार्टीभित्र चलिरहने गुटवादको अभ्यासले कुनै पनि नेता वा कार्यकर्ताको स्वतन्त्र चिन्तनधारा बन्द हुन्छ। त्यसको ठाउँ एक वा अर्को पक्षले नियोजित रुपमा निर्माण गरेको नक्कली राजनीतिक कथ्यले लिन्छ। त्यसै कथ्यलाई सूत्रबद्घ गरेर पार्टीका तहगत समितिहरूलाई समेत विभाजित तुल्याइन्छ। माथिदेखि निर्धारित भएर आएको राजनीतिक कथ्य बाहेक अरु चिन्तन धारालाई खारेज गरिन्छ। पार्टीभित्रको सिर्जनशीलतालाई समाप्त गरेर एउटा निश्चित ‘मिसन’को लागि स्कूल तयार गरिन्छ। सिर्जनशीलताको लागि चाहिने आलोचनात्मक चेतलाई पहिले नै बन्ध्याकरण गरेर चलाइने कम्युनिष्ट पार्टीको पाठशालाले अन्ध भक्त नेता र कार्यकर्ताहरू तयार पार्छ। र, ‘क्रिटिकल थिंकर’हरू जन्मिने वातावरणलाई मार्छ।

दोश्रो, पेसेवर नेता तथा कार्यकर्ताहरूको उत्पादन गर्नु कम्युनिष्ट पाठशालाको अर्को महत्वपूर्ण काम हो। कुनै एउटा राम्रोसँग आफ्नो पेशा गरिरहेको व्यक्ति जब कम्युनिष्ट पार्टीको सम्पर्कमा जान्छ, उसलाई पार्टीले पेसेवर कार्यकर्ता बनाउँछ। उसलाई पेसेवर बनाइ सकेपछि उसको सिर्जनशीलता मात्र समाप्त हुँदैन, आफ्नो जिविकाको लागि समेत कुनै न कुनै ठूलो नेताको आडमा जिविकोपार्जन गर्नुपर्ने स्थितिमा पुग्छ। अथवा कुनै न कुनै रुपमा अवैध आर्थिक कारोबारमा संलग्न हुन पुग्छ।

पार्टी सत्तामा छ भने राज्य दोहनको अंसियार बन्छ। पार्टी सत्ता बाहिर हुँदा विभिन्न अवैध आर्थिक कारोबारमा संलग्न माफियासँग मिलेर विचौलियाको काम गर्छ। तर उसले पार्टीमा भने पूर्णकालीन भएको दावी गरिरहन्छ। यसले गर्दा उसको दोहोरो जीवन सुरु हुन्छ। उ जे देखिन्छ, त्यो रहदैंन। सम्पत्तिको नाममा केही हजार रकम, एउटा कम्युप्टर र मोबाइल मात्र देखाउँछ। तर सामान्य आवरणमा अवलोकन गर्दा मात्र पनि उसको जीवन पद्धति निकै खर्चिलो देखिन्छ। जसले गर्दा उसले भन्ने र गर्ने कुराको बीचमा ठूलो विभाजन रेखा कोरिन्छ। सामाजिक रूपान्तरणमा योगदान गर्ने नाममा कम्युनिष्ट पार्टीले उत्पादन गरेका पेसेवर नेता तथा कार्यकर्ताहरूले सामाजिक उत्पादनलाई अवरुद्ध गर्न पुग्छन्।

सामाजिक जीवनमा दोहोरो चरित्र लिएर बाँच्ने कम्युनिष्ट पेसेवर नेता र कार्यकर्ताहरूले पार्टीको जीवन पद्धतिलाई समेत दोहोरो चरित्रको बनाउँछन्। लोकतन्त्रमा राज्यको जीवन पद्धति निर्धारण समेत राजनीतिक दलहरूले गर्छन्। पार्टीको अलोकतान्त्रिक जीवन पद्धतिको सिधा असर राज्य सञ्चालनमा पर्दछ। आज दुइतिहाइ बहुमतसहितको सरकार हुँदा पनि कुनै परिणाम नआउनुको मुख्य कारण कम्युनिष्टहरूको दोहोरो चरित्रको परिणाम हो। एउटा कक्षामा पसेर समाजवादको कुरा गर्ने र एकैछिनमा अर्को कक्षामा गएर विचौलियासँग मिलेर कमिसन खाने चरित्रले परिणाम दिने कुरै हुँदैन। यसको दोष कम्युनिष्ट पाठशालाले बनाएको दोहोरो सांस्कृतिक चरित्रलाई जान्छ।

तेश्रो, औसत क्षमताका पार्टीका बुद्धिजीवी तयार पार्ने कम्युनिष्ट पाठशालाले अर्को परजीवी काम गर्दै आएको छ। शिक्षक, प्राध्यापक, कर्मचारी, विभिन्न पेशागत व्यवसायिक क्षेत्रमा रहेका पेशाकर्मीलाई राजनीतिकरण गरेर आफ्नो दलगत र गुटगत फाइदाको लागि कम्युनिष्ट पाठशालाले यस्तो शक्तिको चरम दुरुपयोग गर्दै आएको छ। एकातिर, राज्यबाट तलब खाने यस्तो शक्तिले पार्टी समर्थकको नाममा राज्यमाथि समूहगत दबाब सिर्जना गरेर राज्यका विभिन्न पदहरू कब्जा गर्छ र राज्य दोहन प्रक्रियामा सामेल हुन्छ। अर्कोतिर, निर्वाचनको अवधिमा यिनै राज्य संयन्त्रहरू प्रयोग गरेर आफू लाभान्वित रहेको दललाई विजयी बनाउने प्रयत्न गर्छ।

समाजमा पहिले देखि नै विशेष सामाजिक प्रभुत्व सहित स्थापित समुहलाई आधार बनाएर राजनीतिक शक्ति आर्जन गर्नु कम्युनिष्ट पार्टीको मुख्य साङ्गठनिक आधार रही आएको छ। जनताबाट प्रतक्ष्य समर्थन प्राप्त गर्नुभन्दा समाजमा रहेको विशेष अधिकार सम्पत्र वर्गबाट राजनीतिक शक्ति प्राप्त गर्न सजिलो हुन्छ। त्यसको लागि कम्युनिष्ट पार्टीले अनेक स्वार्थमा सङ्गठित समुहहरूको जाति, क्षेत्र, वर्ग, लिङ्ग र पेशागत सङ्गठनहरू निर्माण गर्छ। यस्ता दबाबमूलक सङ्गठनहरूले पार्टी र राज्यका निकायहरूमा पुग्नको लागि शक्तिको अस्वस्थ प्रतिष्पर्धा गर्छन्। र, पार्टीको वास्तविक शक्ति स्वतन्त्र, सबल र सचेत नागरिकमा नभएर यस्तै सामाजिक ठेकेदार समुहमा केन्द्रित हुन्छ।

सामाजिक ठेकदार समुहको यस्तो परजीवी झुण्डले कम्युनिष्टको समाजवाद होइन, एउटा सामन्ती पार्टी नेतृत्व र सङ्गठनको प्रारूप तयार गरिरहेको हुन्छ। कम्युनिष्ट पार्टीमा सङ्गठित यस्तो ठेकदार समुहले तहगत नेतृत्वको लागि हानथाप गर्छ। पार्टीको शक्तिलाई व्यक्तिगत शक्तिमा रूपान्तरण गर्ने सामन्ती संरचनामाथि कम्युनिष्टहरूको मोह हुनुको कारण यही हो। बग्रेल्ती जनवर्गीय सङ्गठनको नाममा निर्माण भएका अर्धसैन्य संरचनाहरू सामन्तवादका अवशेषहरू मात्र हुन्। यस्तो विचित्र प्रकारको साङ्गठनिक संरचनाको निर्माण पनि सामन्ती टिके प्रणालीबाट सम्पन्न गरिन्छ। कहिल्यै कलेजमा नजाने पार्टीको पेसेवर कार्यकर्ता विद्यार्थी सङ्गठनको नेता नियुक्त हुन्छ। कहिले पनि कुनै काम नगरेको एउटा नेतालाई मजदुरको नेता घोषणा गरिन्छ। कहिल्यै विद्यालय नजाने पार्टीको शिक्षक शिक्षक सङ्गठनको नेता हुन्छ। यहाँसम्म कि पार्टीले घोषणा गरेर बुद्धिजीवी र विज्ञसमेत बनाउने कम्युनिष्ट पाठशालाको काम हुन्छ। एवं रीतले निर्माण भएको कम्युनिष्ट पार्टी विशेष अधिकार सम्पत्र परजीवी वर्गको भिमकाय संयन्त्रमा रूपान्तर हुन्छ। यसैलाई कब्जा गरेर पार्टीको शक्ति आफूमा केन्द्रित गर्नको लागि विभिन्न यस्ता विभाग, आङ्गिक र पेशागत सङ्गठनहरूमा आफ्ना समर्थकहरू राख्न विभिन्न गुटका नेताहरूको तानातान हुन्छ।

अतः आजसम्मको कम्युनिष्ट स्कूल विभागको मूल्यांकन गर्ने हो भने यो विभाग विभाजनको सिद्धान्त प्रतिपादन गर्ने र गुटवादको अभ्यास गर्ने औपचारिक थलो बन्दै आएको छ। यसले निर्माण गरेको पार्टी शक्ति वास्तविक सामाजिक शक्ति नभएर शक्तिको आडमा प्रभुत्व कायम गर्ने ‘रेन्ट-सिकर्स’हरुको शक्ति हो। यस्तो पाठशालाले वास्तविक नागरिक, पार्टी शुभेच्छुक, सदस्य, नेतृत्व आदिको अधिकारलाई खोसेर केही विशेष समुहलाई अतिरिक्त शक्ति आर्जन गर्ने थलो बनाइदिन्छ। त्यही थलोलाई प्रयोग गरेर निरन्तर शक्तिमा रहिरहने एउटा पार्टी ‘सिन्डिकेट’ तयार गर्छ। सिन्डिकेटले सिद्धान्तको कुरा गर्दैन, नाफा घाटाको मात्र कुरा गर्छ। कम्युनिष्ट पार्टीहरूले स्कूल विभागको नाममा गुट निर्माणको औपचारिक थलोलाई सुल्टो र सिद्धान्तको बाटो नबनाउँदासम्म स्कूल विभाग खारेज गरेको राम्रो। बाँकी उहाँहरूकै मर्जी।

सौजन्यः नेपाल समय डटकम

 

शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीका ग्रामीण कच्ची सडकमा राति गाडी चलाउन रोक
असार १५ मा हिलो खेल्ने बढे, खेती गर्ने घटे
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा प्यानल बनाउन नपाइने

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.