काठमाडौं ,१३ कार्तिक । साउदी अरबले विदेशी कामदारका लागि लागू गर्दै आएको कफाला प्रणाली हटाउने भएको छ । यो व्यवस्था हटेपछि कामदारले काम गरिरहेको कम्पनी छाड्न मालिकको अनुमति आवश्यक पर्ने छैन ।
साउदी सरकारले कफाला प्रणाली हटाउने योजना बनाइरहेको स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै रोयटर्सले जनाएको छ । साउदी अरब नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमा पर्छ । यो प्रणाली हटे नेपाली कामदारलाई थप सहज हुने छ ।
साउदी अरबमा अहिले एक करोड विदेश कामदार कफाला प्रणालीअन्तर्गत काम गर्छन्। जसमध्ये चार लाखको हाराहारीमा नेपाली कामदार छन् ।
यस प्रणालीमा रोगजारी दिने कम्पनीमा काम छाड्दा मालिकको अनुमति आवश्यक पर्छ । जसको कारण कामदारमाथि चरम शोषण हुने गरेको छ। यो व्यवस्थाको धेरै पहिलेदेखि नै आलोचना हुँदै आएको थियो ।
साउदी अरबमा कफाला प्रणाली सात दशकदेखि जारी छ । अगामी साता साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले रोजगारदाता र कामदारबीच सम्झौता सुधार सम्बन्धी घोषणा गर्ने छ । यो आगामी वर्षको मध्यसम्ममा कार्यान्वयनमा आउने बताइएको छ।
पछिल्लो समय साउदी अरबले अर्थतन्त्र सुधारका कदम चाल्न थालेको छ।