धनगढी। नेपाल प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न ७ अभियुक्तलाई कारवाहीको प्रक्रिया अघि बढाइए पनि मुख्य तस्करबारे प्रहरी मौन छ।
शनिबार राति आफ्नै दुई सहकर्मी मारिँदा पनि प्रहरी मौन बस्नुले धेरै आशंका उब्जाएको छ। चार दिन बित्दा समेत प्रहरी केराउका मुख्य तस्करबारे मुख खोल्न तयार छैन।विक र साउदको हत्यामा संलग्न सात जना भरिया मात्रै हुन्। उनीहरु ब्यापारीको केराउ भारतीय बजार पलिया लैजाँदै थिए।
नेपालमा सस्तो पाइने केराउ सधैँ यसरी नै भारतीय बजार पलिया तस्करी हुँदै आएको थियो। उक्त कार्यमा गाउँका बेरोजगार युवाहरु परिचालन गरिँदै आएका थिए।तस्करी गर्ने त ठुलठुला ब्यापारी हुन्। प्रहरी ति ब्यापारीबारे मौन रहेको छ। विक र साउदका परिवारजनले मुख्य तस्करलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।
असइ विक र जवान साउद तस्करहरुसित नमिलेपछि उक्त घट्ना घटेको देखिन्छ। तर प्रहरीका ठुला हाकीम नै तस्करहरुसित संलग्न रहेको आशंका गरिएको छ। यसबारे सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदीले केही बोलेका छैनन्।
हत्या भएको जुगेडा भारतसित जोडिएको सीमा क्षेत्र हो। उक्त नाका भएर दैनिक जसो चोरी तस्करी हुँदै आएको छ। सो क्षेत्रमा ठाउँ ठाउँमा सशस्त्र प्रहरीसमेत खटाइएको छ। प्रहरीले भन्दा पनि सीमामा गस्ती गर्ने सशस्त्र प्रहरीले हो।
अरु रात सशस्त्र प्रहरीले सधैँ गस्ती गर्ने गरेको जुगेडा क्षेत्रमा दुई प्रहरी मारिएको राति भने गस्ती गरेको देखिँदैन। तस्करी हुँदै गरेको बारे सशस्त्र प्रहरी जानकार रहेको आशंका गरिएको छ। सो क्षेत्रमा सशस्त्र प्रहरीका दुई बीओपी छन्। जुन घटना भएको वरपर नै रहेका छन्।
जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत सुरक्षाकर्मीका अनुसार प्रहरी र सशस्त्र प्रहरीबीच गस्तीका क्रममा भेट हुने गरेको थियो। कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय त सीमामा झनै कडाइ छ। यस्तोमा केराउ तस्करी कसरी सम्भव भयो ? यो प्रश्नको उत्तर न प्रहरीसित छ न सीमाको निगरानीका लागि खटिएको सशस्त्र प्रहरीसित। जुगेडा अस्थायी प्रहरी चौकी रहेको क्षेत्र धनगढी उपमहानगरपालिका–१२ मा पर्छ। त्यहाँका बासिन्दा सधैँ तस्करबाट असुरक्षित छन्। उनीहरुले लामो समयदेखि पर्याप्त सुरक्षाकर्मीको माग गर्दै आएका छन्।
प्रहरी इन्चार्ज मारिँदा त्यहाँ नौ जना मात्र सुरक्षाकर्मी तैनाथ थिए। अहिले पनि सईको कमाण्डमा १५ जना मात्र जनशक्ति पठाइएको छ।