धनगढी ४ कार्तिक/अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकले तस्करी रोक्न खोजेपछि हत्या गरेको पक्राउ परेका अभियुक्तले स्वीकार गरेका छन् ।
‘गोरुगाडामा दाल (मटर) भारत पठाउदै थियौं असईले रोक्न खोजेपछि हत्या गरेर मोहनामा बगाईदियौँ’ पक्राउ परेका अभियुक्तले प्रहरी समक्ष दिएको बयानमा भनेका छन् ।
उनीहरुले तस्करी गरेर ल्याइरहेको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । असईको हत्यामा संलग्न गिरोहका अधिकांश व्यक्तिलाई पक्राउ गरेको प्रहरीले फरार रहेकाहरुको खोजी तीब्र पारेको जनाएको छ ।
शनिबार राती नियमित गस्तीमा निस्कीएका प्रहरी सहायक निरिक्षक बिकको शव हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो ।
उनको उच्च सम्मान सहित सोमबार कञ्चनपुरको दोदा घाटमा अन्त्येष्टि गरिएको छ । बिकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको पनि आज मोहना नदिमे शव भेटीएको छ ।