धनगढी, ४ कार्तिक/ कैलालीमा तस्कर समूहद्धारा हत्या गरिएका प्रहरीले बोकेको पेस्तोल भेटिएको छ । मोहना नदी आसपासमै एउटा पेस्तोल फेला परेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।
यसअघि कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक आइतबार र प्रहरी जवान रामबहादुर साउँद आज मोहना नदीमा मृत फेला परेका थिए ।
अनुसन्धानका क्रममा तस्कर समूहले उनीहरुको हत्या गरेको खुलेको छ । शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये असई विक आइतबार बिहान मृत अवस्थामा मोहना नदीमा फेला परे पनि प्रहरी जवान साउँदको अवस्था भने अज्ञात थियो ।
यसअघि घटनामा संलग्न रहेका एकजना तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरपछि साउँद र विकको हत्या गरेको साबिति दिएका थिए ।
विकले चढ्ने बा.५८प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो ।