धनगढी, २ कार्तिक/२०७३ फागुन २६ गते भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको पुनर्वासका गोविन्द गौतमलाई गोली हानी हत्या गर्यो।
पुनर्वास नगरपालिका–८ आनन्द बजार छेउको बाटोमा पुलेसो निर्माणको विषयमा विवाद झिक्दै भारतीय सुरक्षा अधिकारीले चलाएका गोली उनलाई लागेको थियो। उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ।
भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली युवा मारिनु सामान्य घटना थालिसकेको छ। आज फेरि कञ्चनपुरको पुनर्वासले दशगजामै अर्का गोविन्द गुमाएको छ। पुनर्वास नगरपालिका–९ घर भएका नेपाल प्रहरीका असई गोविन्द विक कैलालीको धनगढी उपमहानगरपालिका–१२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत थिए।
हिजो राति ड्युटी निभाउन दशगजा क्षेत्र पुगेका उनलाई अज्ञात समूहले दशगजामै घाटी रेटेर हत्या गरको छ। सीमा क्षेत्रमा आफ्नो कर्तव्य पूरा गर्न निस्किएका गोविन्दको वीभत्स हत्या भएको छ। उनी भारतीय तस्करको निशानामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
गोविन्द हत्यापछि पुनर्वास यतिबेला शोकमा डुबेको छ। पटकपटक सीमा क्षेत्रमा आफन्त गुमाउनुपर्दा पुनर्वासबासीलाई नेपाल सरकार हराएको अनुभूति हुन थालेको छ। पुनर्वासले एउटा सुरक्षाकर्मीको उपल्लो तहमा कार्यरत गुमाउनुपर्दा आफूहरुलाई असाध्यै पीडा महसुस भएको नगरपालिका मेयर जीवन थापाले सुनाए। उनले राज्यलाई प्रश्न गर्दै भने, ‘सीमामा खटिने सुरक्षाकर्मीको सुरक्षा गर्न नसक्ने सरकारले नागरिकको के सुरक्षा गर्न सक्छ?’
‘हामी असुरक्षित भएका छौं, सरकार लाचार बनेको छ,’ उनले भने सरकार त थाहै नपाएजस्तो गर्न थाल्यो, मानौं नेपालमा सरकार नै छैन वा भएर पनि आफ्ना नागरिकलाई सुरक्षा दिन सकेको छैन, विदेशी सेनाको गोलीले मारिँदा चुप लागेर बसेको परिणामस्वरुप यो अवस्था आएको हो।’
अहिले पुनर्वासस्थित गोविन्दको परिवार शोकमा डुबेको छ। विपन्न परिवारमा जन्मेका गोविन्दसहित ३ भाइ थिए। उनी माइला हुन्। उनको परिवारमा श्रीमतीसहित साढे २ र ६ वर्षीया गरी २ छोरी छन्। नेपाल प्रहरी सेवामा ३ वर्ष मात्रै बिताएका गोविन्द २ महिना पहिले सुर्खेत जिल्लामा कार्यरत थिए।