धनगढी, १ कार्तिक/ नेपाली कांग्रेस गौरीगंगा नगरपालिका–६ को वडा कार्यालयको आज शनिबार घटस्थापनाको अवसर पारेर एक कार्यक्रमका बिच उदघाटन भएको छ ।
नेपाली काङ्ग्रेस कैलाली नेता एवं नेपाली काङ्ग्रेस क्षेत्र न. ४ का क्षेत्रीय सभापति दिनेशराज जोशीले गौरीगंगा नगरपालिकाका–६ को वडा कार्यालयको उदघाटन गरेका हुन । वडा कार्यालयको उदघाटन गर्दै जोशीले कम्युनिस्टहरु देशमा तिनै तहका सरकार चलाउन असफल भएको बताए ।
उनले भने ‘न त यिनिहरुको कुनै दीर्घकालीन सोच योजना छ न त कुशल शासन नै चलाउने क्षमता छ, यिनिहरु जनता माझ उदाङ्गो भैसकेका छन, देशमा चाहे बाढीपहिरो होस चाहे कुनै माहामारी होस यिनिहरुलाई जसरी पनि कमाउने धन्दा बनाइरहेका छन् ।’ कम्युनिस्टहरु भ्रष्टाचारमा लिप्त रहेको बताउदै, देशमा हत्या, हिंसा, बलत्कार दिन प्रतिदिन बढ्दै गएको उनले बताए ।
उनले थपे ‘धेरै टाढा नजाऔं स्थानीय सरकार गौरीगंगा नगरपालिकाले नीति नियम मिच्दै बिना टेन्डर नदिजन्य पदार्थको कार्यकर्ता मार्फत दोहन गरिरहेको छ ।’ अब नेपाली काङ्ग्रेस चुप लागेर नबस्ने उनले बताए । सम्पुर्ण तरुण , नेविसंघ, महिला, दलित आदिवासी जनजाती सबैलाई स्थानीय सरकारमा भैरहेक गलत क्रियाकलापको विरुद्ध एक ढिक्का भएर लाग्न आग्रह गरे ।
वडा कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य प्रेमराज ओझा, कमला शर्मा नगर सभापति काशीराम शर्मा, क्षत्रीय सदस्य पुरन सिंह कडायत, नेपाल विद्यार्थी संघ कैलाली जिल्ला कार्यबाहक अध्यक्ष भेष बम, तरुण युवा नेता भरत कुवँर लगायतले मन्तव्य रनखेका थिए ।
सोही अवसरमा पार्टी कार्यालय सञ्चालनका लागि नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर ६ का वडा अध्यक्ष कमला शर्माले २० हजार १ सय ५० रुपैयाँ वडा सदस्य टेकबहादुर कुवँरले १५ हजार रुपैयाँ वडा सदस्य रुपलाल रानाले १२ हजार रुपैयाँ , वडा सदस्य मन्सारा भुल र वडा सदस्य गीता चौधरी १०र १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।
काङ्ग्रेस गौरीगंगा नगरपालिका–६ का वडा सभापति दानबहादुर कुवँर ज्युको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेसका नगर सचिव हेमन्त जोशीले गरेका थिए भने स्वागत मन्तव्य मिनबहादुर बोगटीले गरेका थिए ।

