धनगढी २७ असोज / चालु आर्थिक बर्षको तीन महिनामा सुदूरपश्चिमका बिभिन्न जिल्लामा बलात्कार सम्बन्धी १८ घटना प्रहरी कार्यालयमा दर्ता भएका छन्। जसमध्ये १३ वटामा पीडितका आफन्तनै संलग्न भएको पाइएको छ। बुवा, भाई, मामा, छोरा र ठूला बुवा पर्नेहरुनै घटनासंग जोडिएको अनुसन्धानले देखाएको हो।बलात्कृत हुने अधिकांस १५ बर्ष भन्दा मुनिका बालिका रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्यांक अनुसार असार १७ गते बैतडीको पञ्चेश्वर गाउँपालिका–४ मा आफ्नै बुबाले ११ बर्षे छोरीलाई बलात्कार गरेको भन्दै जिप्रका बैतडीमा जाहेरी परेकोमा साउन १ गते मुद्धा दर्ता गरिएको छ। यस्तै डडेल्धुराको भागेश्वर गाउँपालिका–४ मा काकाले भतिजिलाई र बाजेले नातीनीलाई पटक–पटक बलात्कार गरेको आरोपमा उनीहरुलाई साउन १ गते पक्राउ गरी अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा राखिएको छ।
बाजुराको बुढीगंगा नगरपालिका–२ का २७ वर्षका बुवाले आफ्नै १४ बर्षकी छोरीलाई २०७६ पुष देखि पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ। उनलाई साउन २९ गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ गरेका छन्। उनलाई साउन ३० गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
कञ्चनपुरकै वेदकोट नगरपालिका–५ मा मामाले भान्जिलाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ बर्षे युवकलाई साउन ४ गते पक्राउ गरेको थियो। उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।कञ्चनपुरकै लालझाडी गाउँपालिका–६ मा छोराले आमालाई करणी गरेको भन्दै परेको आरोपमा प्रहरीले भदौ १२ गते छोरालाई पक्राउ गरेको थियो। अहिले पुर्पक्षका लागि आरोपित छोरालाई कारागार चलान गरिएको छ। यस्तै दार्चुलामा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरी भदौ २२ गते देखि उनलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
बैतडीको सिगास गाउँपालिका–८ मा दाजुले बहिनीलाई बलात्कार गरेको आरोपमा युवकलाई साउन २८ गते पक्राउ गरी अनुसन्धान भइरहेको छ।डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा दाजुले बहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भदौ १५ गते एक युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै डोटीको जोरायल गाउँपालिका–५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा १ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।