धनगढी, २२ असोज/ जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तह र वडाका सेवाग्राहीलाई छुट्टाछुट्टै बार प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बार अनुसार सेवा दिने प्रणालीलाई थप व्यवस्थित बनाएको जनाएको छ।
आईतबार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ देखि १९ सम्मका सेवाग्राही, गोदावरी नगरपालिकाको वडा नम्बर १ देखि ३ सम्मका सेवाग्राही, सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ देखि १० सम्म, गोदावरी नगरपालिकाको वडा नम्बर ४ र ५ का सेवाग्राहीलाई सेवा दिईनेछ।
यस्तै मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ देखि ९ सम्म, कैलारी गाउँपालिका वडा नम्बर १ देखि ४ सम्मका सेवाग्राही, बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ११ देखि १४ का सेवाग्राही र कैलारी गाउँपालिका वडा नम्बर ८ र ९ का सेवाग्राहीलाई सेवा प्रदान गरिने प्रशासनले जनाएको छ।
बीहिबार गोदावरी नगरपालिका १० र १२ का सेवाग्राही, कैलारी गाउँपालिका वडा नम्बर ५ देखि ७ सम्मका सेवाग्राही, शुक्रबार वडा नम्बर १ देखि ४ सम्मका सेवाग्राहीलाई सेवा प्रदान गरिने जारी सूचनामा उल्लेख छ। चुरे गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका सेवाग्राहीलाई भने शुक्रबार बाहेक हप्तामा पाँच दिन सेवा प्रदान गरिनेछ। आज सार्वजनिक गरिएको कार्यतालिका अनुसार २५ गतेदेखि सेवा प्रदान गरिने प्रशासनले जनाएको छ।
यस बाहेकका अन्य राहादानी, हातहतियार दर्ता, नविकरण, पत्रपत्रिका, प्रमाणित तथा सिफारिस सम्बन्धीका सेवा नियमित कार्यालय समयमा उपलब्ध गराईनेछ। स्थानीय प्रशासनले तोकिएको बार मात्र सम्बन्धीत सेवाग्राहीले कार्यालयमा प्रवेश गर्न पाउने जनाएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न अनुरोध समेत गरिएको छ।
