धनगढी, २१ असोज/ कैलाली जिल्लामा पर्ने ८३.७ किलोमिटर हुलाकी सडक चौडा बनाउने काम दसैंपछि हुने भएको छ ।
सो सडकको ठेक्का लागिसकेपछि अहिले हुलाकी सडक आयोजना कार्यालय धनगढी र निर्माण कम्पनीहरूले ज्वाइन्ट सर्भे गरिरहेका छन् । आयोजना र निर्माण कम्पनीसँंगको यो सर्भे सकी निर्माणकार्य अगाडि बढाउने तयारी रहेको आयोजनाका इन्जिनियर पदम मडैले बताए ।
धनगढी–भजनी–सत्तिसम्मको ४४ किलो मिटर र लम्की–टीकापुर–खक्रौलासम्मको ३९।७ किलोमिटर सडक चौडा बनाउनका लागि सात खण्डमा ठेक्का लगाइएको छ । धनगढी–भजनी–सत्तिसम्मको चार खण्डमध्ये तीन खण्ड स्वछन्द जोशी र चौथो खण्ड कालिका जोशी जेभीले निर्माणको जिम्मेवारी पाएका छन् । लम्की–टीकापुर–खक्रौलासम्मको ३ खण्डमध्ये कालिका सुमार्गीले एक खण्ड र खड्का कृष्ण जेभीले दुई खण्ड निर्माण गर्ने सम्झौता भएको इन्जिनियर मडैले बताए ।
साढे दुई अर्बको लागत अनुमान गरिएको हुलाकी सडक स्तरोन्नति गर्दा धनगढीको क्याम्पसरोडदेखि मनहेरासम्म तीन किलोमिटर चार लेन र बाँकी ८०.७ किलोमिटर दुई लेनको बनाइने छ । अहिले हुलाकी सडकमा एक लेन (साढे तीन मिटर) मात्रै कालोपत्रे गरिएको छ ।
पहिलो क्याम्पसरोडदेखि कनरीसम्मको ७ किलोमिटरको लागत ३७ करोड, दोस्रो खण्ड कनरीदेखि फुलबारीसम्मको १२ किलोमिटरको लागत ३२ करोड, तेस्रो खण्ड फूलबारीदेखि कटौनीसम्मको ७ किलोमिटरको लागत २८ करोड र चौथो खण्ड कान्द्रदेखि सत्तीसम्मको १३ किलोमिटरको लागत ३२ करोड ७२ लाख रहेको इन्जिनियर मडैले बताए ।
इन्जिनियर मडैका अनुसार हुलाकी सडकको चौडाइ अलकत्रा प्रविधिबाट बढाइने छ । अहिलेको हुलाकी सडक ओटासिल प्रविधिबाट निर्माण भएको छ । जुन निर्माणसम्म भएको वर्षदेखि नै भत्किएको छ । इन्जिनियर मडैले पुरानो सडकलाई पनि अलकत्रा प्रविधिमार्फत नै स्तरोन्नति गरिने बताए । उनले एक साइटको सडक निर्माण नभएसम्म अर्को साइटमा मर्मतमात्रै गरिने बताए । उनले एक साइटको निर्माण सकिएपछि मात्रै अर्को साइड निर्माण गरिने बताए ।
सडक चौडा गर्नका लागि गत मंसिरमै बोलपत्र आह्वान गरिए पनि सम्झौता यही असार ३० गतेमात्रै साउन १ गतेदेखि काम गर्ने गरी भएको थियो । निर्माण कम्पनीहरूले २०७७ साउन १ गतेदेखि ३० महिनामा सो काम सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको इन्जिनियर मडैले बताए ।
वसन्ता वनको टुंगो लागेन
कैलालीमा पर्ने धनगढीदेखि सत्तीसम्मको ६२ किलोमिटर सडकमध्ये ४४ किलोमिटर पाँच वर्ष पहिले निर्माण भइसकेको छ । तर कटैनीदेखि कान्द्रा नदीसम्मको १८ किलोमिटर सडक अझै निर्माण भएको छैन ।
सो १८ किलोमिटरमध्ये १६ किलोमिटर नेपाल सरकारको नयाँ मापदण्ड अनुसार दुई लेन (सात मिटर पिच) सहितको लगभग निर्माण सम्पन्न हुने अवस्थामा पुगेको इन्जिनियर मडैले बताए । तर वसन्ता वनभित्रको दुई किलोमिटर लम्बाइको सडक कहिले बनाउने भन्ने टुंगो लाग्न सकेको छैन ।
डिभिजन वन कार्यालय कैलालीले सडकमा पर्ने एक सय वटा रुख काट्नका लागि आदेश मागेको फाइल अगाडि नबढाइदिँंदा सो स्थानमा हुलाकी सडकको ट्रयाकसमेत खोलिएको छैन । इन्जिनियर मडैले ईआर्ईए र आईईई गरी रुखमा टाँचासमेत लगाइसकिएको भए पनि कटान आदेश नपाइएकाले काम गर्न नसकिएको बताए ।
तर, डिभिजन वन कार्यालय कैलालीले वन कार्यालयले राखेका सर्तहरू पूरा नगरेको हुनाले फाइल अगाडि बढाउन नसकिएको जनाएको छ । डिभिजन वन कार्यालय कैलालीका रामचन्द्र कँडेलले वसन्ता वन अन्तर्राष्ट्रिय जैविक करिडोर भएकाले सो क्षेत्रमा वन्यजन्तुको अण्डर पास र ओभरपास अनिवार्य रूपमा बनाउनुपर्ने सर्त राखेको र सो बनाउन आयोजना कार्यालयले तत्परता नदेखाएको बताए । “पहिले हामीले हुलाकी सडकको अलाइनमेन्ट नै चेन्ज गर्न भनेका थियौं,” उनले भने, “सडकको अलाइनमेन्ट चेन्ज गर्न नसकिने भएपछि हामीले अण्डर पास र ओभर पास बनाउन भनेका छौं । त्यो बनाउन पनि उनीहरूले काम गरेका छैनन् ।”
विकासको काम रोक्न नहुने र वन पनि अतिक्रमणबाट जोगाउन पर्ने भएकाले आयोजना कार्यालयलाई वनको दक्षिणी क्षेत्रमा तारबार गराएर फाइल अगाडि बढाउने सहमति भएको वन अधिकृत कँडेलले बताए । उनले तारबार गरेको अनुगमन गरेपछि मात्रै हुलाकी सडक बनाउने बाटो खोल्ने बताए ।