धनगढी, १८ असोज/ विश्व पशुपन्छी दिवस २०७७ को अवसरममा धनगढीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले पशुपन्छीको हक अधिकार हनन् भएको गुनासो गरेका छन् ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलाली र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीको आयोजनामा अन्तरक्रिया र्काक्रममा पशुपन्छी विज्ञहरुले पशु अधिकारको हनन् भएको गुनासो गरेका हुन ।
सरोकारवालाहरुले पशुपन्छीका पाँच स्वतन्त्रताहरु सुनिश्चित हुनुपर्ने आवाज उठाएका छन् । पशुपन्छीको भोक प्यास मेटाउन पाउने स्वतन्त्रता, आरामदायी ढंगले जिउन पाउने स्वतन्त्रता, दुःख, दर्द, घाईते र रोग लाग्नबाट बाच्न पाउने स्वतन्त्रता र डर, त्रास र तनाबबाट मुक्त रहन पाउने स्वतन्त्रताको रक्षा हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेल्टा सुदूरपश्चिम प्रदेश संयोजक लाल बहादुर बोहराले पशुपन्छीहरुलाई जथाभावी रुपमा एन्टीबायोटीक औषधीहरु प्रयोग भईरहेको बताए । उनले आफुहरु पशुपन्छीको सवालमा खटीएर काम गरीरहेको बताउदै यस्ता एन्टीबायोटीकहरु प्रयोग गर्न नहुने धारणा राखे ।
एग्रोभेट सञ्चालन लोकेन्द्र लम्सालले पशुपन्छीको हक अधिकार हनन् भईरहेको बताए । ‘पशुपन्छीलाई मार्नु काट्नु अघि यातना दिने, जबरजस्ती मार्ने, रागाहरुलाई दौडाई दौडाई बली दिने जस्ता कार्य पशु अधिकार विपरी हुन’ उनले भने ।
सुदूरपश्चिम प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पुर्व सचिव महेशराज बिष्टले छाडा चौपाय व्यवस्थान गर्नु ठुलो चुनौतीको बिषय भएको बताए । ‘वयस्य अवस्थामा गाईको दुध खाएर वृद्ध अथवा उत्पादन दिन छोडेपछि सडकमा छाड्ने प्रवृतिले छाडा चौपायाको समस्या सिर्जना भएको हो’ उनले भने । यसरी गाईबस्तुलाई सडकमा छाड्नेलाई सरकारले कानुनी दायारामा ल्याउनु जरुरी रहेको उनले बताए । पशुहरुले मानिसहरुलाई उत्पादन र योगदान दिन कुरा अमुख रहेको बताउदै पशु कल्याणको लागी सरकारले काम गर्नुपर्ने सुझाव दिए ।
यस्तै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटी निर्देशक मदन सिहं धामीले पशुपन्छीको हक अधिकार संरक्षणको लागी सबैले आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । उनले पशु र मानिस एकअर्काका परिपुरक भएको बताउदै पशुपन्छीलाई दुःख यातना दिन नहुने बताए ।
‘कुनै व्यक्तिले पशुवस्तुलाई छाडा छोडेको खण्डमा तीन महिनासम्म कैद सजायको व्यवस्ता कानुनले गरेको छ, उनले भने छाडा चौपयाको समस्या निराकणको लागी स्थानिय तहहरुले कानुन कार्यान्वयनमा जोड् दिनुपर्ने देखीएको छ ।’
यस्तै कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख वरिष्ट पशु चिकित्सक डा.बसन्त बहादुर सिहंले पशु कल्याण मापदण्ड तयार गर्नुपर्ने बताए । मानिसले सम्पुर्ण जनावर प्रति सम्वेदनशिल हुनुपर्ने धारणा राखे ।
उनले पशुपन्छी र मानिसमा गोत्रीय सम्बन्ध रहेको बताउदै विश्व पशुपन्छी दिवसलाई सबैले पर्वको रुपमा मनाउनुपर्ने बताए ।
“पुशपन्छी प्रति उचित सम्मान, मानव सभ्यताको पहिचान” भन्ने मुल नाराका साथ विश्व पशुपन्छी दिवस २०७७ मनाइएको छ ।