धनगढी, ३ असोज/ शुक्रबार मृत अवस्थामा फेला परेकी कैलालीकी सञ्चारकर्मी निर्मला पहराईको हत्या गरिएको उनका परिवारले आरोप लगाएका छन् । हराएको ३ दिन पछि घोडाघोडी नगरपालिका १० मा रहेको फूलबारी सामुदायिक बनमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो ।
उनको हत्या गरि झुन्डिइएको निर्मलाका दाई विशाल पहराईले दाबी गरेका छन् । शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्मलाको हत्या भएको भन्दै उनले यि सात तथ्यहरु प्रस्तुत गरेका छन् ।
- तीन दिनदेखी बेपत्ता भएकी निर्मलाको शव झुन्डिएको अवस्थामा फेला पर्यो तर सुन्निएको थिएन् ।
- निर्मला झुन्डिएको डोरी राम्रोसंग कसिएको थिएन् ।
- उसले प्रयोग गर्ने चप्पल र छाता त्यही छ तर घडी २७ फिट टाढा भेटीएको छ कसरी ?
- चप्पल र छातामा माटो लागेको छैन्, तर खुट्टा र कपडामा माटो लागेको छ कसरी ?
- घरबाट ललितकोमा जान्छु भनेर निस्कीएकी निर्मलाको कपाल लुछिएको छ ?
- उनले प्रयोग गर्ने मोबाइल अहिलेसम्म फेला परेको छैन ?
- पक्राउ परेका ललित जाग्रीले मलाई मात्रै किन थुन्नु हुन्छ रियालाई पनि थुन्नुस् भन्नु ?
परिवारले अन्तरजातीय प्रेम सम्बन्धका कारण निर्मलाको हत्या गरेको दाबि गरेका छन् । निर्मलाका दाई विशालका अनुसार कैलाली एफएमै कार्यरत २४ वर्षीय ललित जाग्रीसंग निर्मलाको प्रेम सम्बन्ध थियो । निर्मला दलित पत्रकार संघ कैलालीकी सचिव भएपछि ललितले निर्मला दलित भएको थाहा पाएपछि ललितले निर्मलालाई फेसबुकमा ब्लक गरे । त्यसपछि ललित कैलालीकै रिया साउँद नाम गरेकी अर्की केटीसंग सम्बन्धमा जोडीएका थिए ।
ललितले रियासंग सम्बन्ध जोडपनि पुनः निर्मलालाई बिहेगर्ने आश्वासन देखाएको निर्मलका दाई बिशालको दाबि छ । भदौ ३१ गते घरबाट निस्कने बेलापनि निर्मलाले ललितकोमा जान्छु भनेर गएको र ललितले बिहे गर्न बोलाएको बताए । उनले ललित र रियाको संलग्नतामा निर्मलाको हत्या भएको दाबि गरेका छन् ।
कैलाली प्रहरीले निर्मलासँगै काम गर्ने ललितलाई शुक्रबारनै सोहि विषयमा अनुसन्धानका लागि पक्राउ गरिसकेको छ । ईलाका प्रहरी कार्यालय सुखडका डिएसपी सागर बोहराले हत्या वा आत्महत्या भन्ने बिषयमा अनुसन्धान भईरहेको बताए । उनले घटनाको अनुसन्धान सुरु भएको र अनुसन्धान गर्दैजाँदा थप खुल्ने बताए ।
पक्राउ परेका ललितले आफ्नो फोन र म्यासेन्जरमा मात्रै निर्मलासंग कुरा हुने गरेको बताएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् ।
उनका शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
परिवारले घटनाको छानबिन नभएसम्म पोष्टमार्टम गर्न नदिने भनेपछि शव पोष्टमार्टम हुन सकेको छैन् ।