धनगढी, २ असोज/ असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । सरकारले संविधान दिवस मनाउनका लागि आवश्यक तयारी गरिसकेको छ । तर प्रदेश २ सरकारको नेतृत्व गर्दै आएको जसपा नेपालमा भने असोज ३ गतेलाई कसरी मनाउने हो भन्नेमा अन्योलता देखिएको छ ।
नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउँदै आएका तत्कालीन मधेसवादी दलहरुसहित विभिन्न राजनीतिक शक्ति मिलेर अहिले जसपा नेपाल नामक राजनीतिक दल बनेको छ । विभिन्न राजनीतिक शक्तिबीच एकीकरण भएर बनेको सो पार्टीका केही राजनीतिक हाँगाले विगतमा असोज ३ लाई कालो दिवसका रुपमा मनाउने गरेका थिए । केहीले तटस्थ रहने र केहीले संविधान अपुरो रहेको बताए पनि त्यसको स्वामित्व लिँदै आएका थिए । त्यसैले पनि यसपटक जसपा नेपालले संविधान दिवसलाई कसरी मनाउने हो भन्नेबारे चासो बढेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कालो दिवस मनाउने कि खुशियाली मनाउने भन्ने बारेमा पार्टीमा कुनै निर्णय नभएको बताए । उनले भने, ‘पार्टीको बैठक बसेर त्यसको बारेमा निर्णय लिनेछ, त्यसपछि मात्र केही भन्न मिल्छ ।’
नयाँ संविधानको विरोधमा आफूहरुले कहिल्यै पनि कालो दिवस नमनाएको दावी गर्दै उनले भने, ‘यसपाली पनि न कालो दिवस मनाउँछौँ, न त दीपावली नै गर्छौँ ।’ यद्यपि यस विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको उनले बताए ।
संविधान संशोधनका लागि आफूहरुले सरकारलाई दवाव दिइरहेको र आफ्ना माग पनि यथावत रहेको उनले प्रष्ट पारे । संविधान जारी भएपछि मधेस आन्दोलनमा होमिएका राजनीतिक शक्तिमात्र नभइ संविधान निर्माणमा सहभागी डा।बाबुराम भट्टराई लगायतको राजनीतिक समूह पनि जसपा नेपालमै रहेका कारण यसपाली संविधान दिवसका दिन दीपावली गर्ने या कालो दिनका रुपमा मनाउने भन्नेबारे जसपा नेपालमा अन्योल देखिएको हो ।
अध्यक्ष यादव संविधानप्रति डा।बाबुराम भट्टराईको पनि असहमति रहेको बताउँछन् । त्यसैले पनि संविधान दिवसका दिन खुशीयाली मनाउने कुरा नरहने उनको भनाइ छ ।
जसपा नेपालका वरिष्ठ नेता डा. भट्टराईले पनि असोज ३ गतेलाई कसरी मनाउने भन्ने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताए । संविधान संशोधनका लागि आफूहरुले दवाव दिने, संविधानमा देखिएको त्रुटिलाई कसरी सच्याउने भन्ने बारेमा बोल्ने तर असोज ३ लाई कालो दिवसकै रुपमा नमाउने उनले प्रष्ट पारे । ‘संविधान पूर्णरुपमा त्रुटिपूर्ण छैन,’ उनले भने, ‘धेरैजसो कुरा सकारात्मक रहेकाले कालो दिवस मनाउन हुँदैन ।’
समाजवादी पार्टीसँग एकीकरण गरेको राजपा नेपालले भने यसअघि प्रत्येक असोज ३ का दिन कालो दिवस मनाएको छ । तर यसपटक के गर्ने भन्नेमा ती दलका नेताहरु पनि अन्योलमा छन् । तत्कालीन राजपा नेपालका महासचिव एवं प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले राजपा नेपालले प्रत्येक साल कालो दिवस मनाउँदै आएको तर यसपटक समाजवादी पार्टीसँग एकीकरण भएपछि बनेको जसपा नेपालले के गर्ने भन्ने निर्णय अहिलेसम्म नआएको बताए । यद्यपि आफू व्यक्तिगत रुपमा असोज ३ का दिनलाई कालो दिवसको रुपमा मनाउने पक्षमा रहेको उनले बताए ।
तत्कालीन समाजवादी पार्टीले संविधान दिवसबारे तटस्थ बस्ने निर्णय गरे पनि प्रदेश २ मा कालो दिवस मनाउने गरेको थियो । तर यसपटक के गर्ने भन्नेमा नेताहरुमा अन्यौल देखिएको छ ।
तत्कालीन समाजवादी पार्टीका प्रदेश २ का अध्यक्षसमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव पनि पार्टी निर्णयको पर्खाइमा छन् । असोज ३ गते कालो दिवस मनाउने कि नमनाउने भन्ने विषयमा पार्टीको कुनै निर्णय नआएको उनले बताए । उनले आफूहरु पार्टीको निर्णयको पर्खाइमा रहेको पनि बताए ।