धनगढी, ३१ भदौ/ असोज १ गतेबाट सुचारु हुने लागेको लामो दुरीको सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू नहुने भएको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले लामो तथा मध्यम दुरीका सवारी साधन सन्चालनमा जोर–बिजोर प्रणाली लागू नहुने बताए। काठमाडौं उपत्यकामा जोर–बिजोर लागू भइरहेका बेला लामो दूरीका सवारी साधनमा के हुन्छ भन्ने अन्योल थियो।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले असोज १ गतेबाट लामो तथा मध्यम दुरीका सवारी साधन सञ्चालन खुला गर्ने निर्णय गरेको हो।
गत चैत ११ गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेका छैनन्। यसअघि भदौ १ गतेदेखि सुरु हुने भनिएपनि त्यसपछि भदौ १६ गतेका लागि सरेको थियो। त्यसपछि असोज १ गतेका लागि सरेको मिति फेरि असोज ५ गतेका लागि तय भएको थियो। सरकारले उक्त मिति सारेर फेरि असोज १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो।
विभागका महानिर्देशक हमालले पूर्ण निषेधाज्ञा रहेका जिल्लामा तत्काल लामो दुरीका सवारी साधन सञ्चालन नहुने बताए। गृह मन्त्रालयका अनुसार करिब दुई दर्जन जिल्लामा पूर्ण निषेधाज्ञा र १० वटा जिल्लामा आंशिक निषेधाज्ञा छ।