धनगढी, ३० भदौ/ दिनेश सञ्चार गृहमा आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईबाट कुटपिटमा संलग्न सरोज थापालाई केही बेर अघि पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले थापालाई जाई स्थित घरबाटै पक्राउ गरिएको जानकारी दिए । आक्रमण र कुटपिटमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५÷२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।
सञ्चार गृहमाथि आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित भएका छन्।