ओखलढुंगा, २७ भदौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी (साविक राणा समुह) का जिल्ला अध्यक्ष जगत प्रसाद लुईटेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। लुइँटेल राप्रपा राणा समहुमा लामो समयदेखि जिल्ला नेतृत्वमा थिए। उनले प्रवेश कार्यक्रममा राप्रराबाट परिवर्तन र मुलुकको समृद्धि सम्भव नरहेकाले राजनितिको मूलधारमा आफँु आएको बताए।
उनीसहित राप्रपाका क्षेत्रीय सदस्य देवेन्द्र खत्री र चम्पादेवीको कालिका गउँ कार्यसमति नेकपामा प्रवेश गराइएको छ। यस अघि राप्रपाको एक घटक सिंगो कमिटी नै नेपाली काँग्रेसमा प्रवेश गरेको थियो। यो सँगै राप्रपामा जिल्लामा कुनै आधिकारिक कमिटी छैन।
नेकपाको चम्पादेवी गाउँ कमिटीको बैठकपछि उनलाई नेकपा प्रवेश गराइएको नेकपाका जिल्ला सचिवालय सदस्य तीर्थ सुवेदीले जानकारी दिए। लुइँटेल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन नेकपा एमालेका तर्फबाट साविक कालिका गाविसको गाविस अध्यक्ष निर्वाचित भएका थिए।
राजाको शासन कालमा उनी राप्रपा प्रवेश गरेका हुन्। उनी मूल घरमा फेरि फर्केको उचित जिम्मेवारी दिइने नेकपाका नेता सुरेश थापाले बताए। प्रवेश कार्यक्रममा नेकपाका नेताहरु खड्ग कार्की, हरि घिमिरे लगायत उपस्थित थिए।
उनी प्रवेश गरेको भीडसहितको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे पछि कोरोनाको महामारीमा पार्टी प्रवेश गराएको भनदै काँग्रेस कार्यकर्ताले चर्को आलोचना गरेका थिए। यसअघि कांग्रेसले सदस्यता वितरण तथा प्रवेश कार्यक्रम गर्दा नेकपा कार्यकर्ताहरुले कोरोना भाइरस प्रवेश गराएको भन्दै विरोध गरेका थिए। पछिल्लो समय प्रवेश कार्यक्रमले जिल्लामा चुनाव आएको झल्को दिएको छ।