धनगढी, २७ भदौ/ महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले मानिसको स्वस्थ्यमा मात्रै असर गरेको छैन् नियन्त्रणका लागि गरिएको लकडाउ र निशेधाज्ञाले धेरैको रोजगारी गुमेको छ । यतिखेर कोरोनासंग जुध्ने चुनौतीसंगै नागरिकलाई जीवन र घरपरिवार कसरी चलाउने भन्ने चिन्ता थपिएको छ।
गाउँघरको जग्गा जमीन बाझो राखेर शहरबजारमा कुनै न कुनै पेशा अपनाएकाहरुमाझ त यतिखेर जटिल समस्या उत्पन्न भएको छ। तर लकडाउन र त्यसबाट उत्पन्न आर्थिक समस्यासंग जुध्न दोलखाका दुई युवा भने भैंसी पालन कर्ममा लागेका छन्।
भीमेश्वर नगरपालिका वडा नम्बर ५ मथानीका अचुत सुवेदी र रामहरि सुवेदीले लकडाउनको उपयोग गर्दै व्यवसायिक भैंसी पालन व्यवसाय सुरु गरेका हुन। विदेशबाट घर फर्के लगत्तै लकडाउन सुरु भएकाले भैंसी पालन व्यवसायमा लागेको अचुत सुवेदीले बताए। भए गरेका अन्य काम समेत बन्द भएको उल्ले गर्दै उनले हाललाई उपयुक्त कर्म नै कृषि ठानेर मथानी कृषि तथा पशुपंछि फार्म दर्ता गरि व्यवसायिक भैंसी पालन सुरु गरेको बताए।
करिब ३० लाख लगानीमा ७ वटा भैंसी, गोठ र आवश्यक यन्त्र, उपकरणहरु जोह गरेका छन्। घासपातको लागि करिव एक सय रोपनी जग्गा आफ्नै रहेको र सामुदायिक बनसंग पनि समन्वय गर्ने कामय भइरहेको सुवेदीले बताए।
हाल यो फर्मबाट दैनिक ५० लिटर दूध उत्पादन भइरहेको छ । गत असारबाट सुरु गरेको यो व्यवासायबाट मासिक डेढ लाख आम्दानी भइरहेको छ भने चार जनाले प्रत्येक्ष रोजगारी समेत पाएका छन् । उत्पादित दूध चरिकोटका होटल, कार्यलय, र घरघरमा पुग्ने गरेको छ।
दुधको फ्याट नझिकिने र गुणस्तरमा सम्झौता नगर्ने भएकाले दुधको माग बढेको युवाहरु बताउछन्। सुरुवाती चरणमा ३० लाख लगानी भएता पनि बढाउदै ६० लाख र्पुयाएर २० भैंसी बनाउने र दैनिक १० भैसीबाट दूध उत्पादन गर्ने काममा आफुहरु जुटेको रामहरि सुवेदीले बताए।
कोरोना संक्रमणले अन्य व्यापार,व्यवसाय असुरक्षित भएकोले मानिसको आधारभूत आवश्यकता भित्र पर्ने कृषि उपज उत्पादमा जोड दिएको उनीहरुको भनाई छ।