धनगढी, २३ भदौ/ बझाङ पिपलकोट्का गैरे धामी मंगलबार बिहानै गौरीफण्टा नाकामा भारत जानेहरुको लाइन्मा थिए । उनि स–परिवार रोजगारीको लागी भारत जान बझाङबाट आएका सिमा नाकामा पुगेका थिए । कोरोना महामारीकै बिच भारतबाट फर्किएका धामी गाउँ रोजगारीको कुनै माध्यम नभएपछि कामको खोजीमा पुनः भारत जान लागेका हुन ।
तीन महिनाअघि भारतको महाराष्ट्रबाट फर्किएका डडेल्धुराका कमल टमटापनि पुनः रोजगारीको लागी भारत जान गौरीफण्टा नाका पुगेका थिए । उनको पिडापनि उस्तै थियो । ‘गाउँमा केही काम छैन्, घर व्यवहार चलाउन साह्रै समस्या भएको छ काम खोज्न त जानु पर्यो नी ?’ उनले भने ।
कोरोना महामारीको डरले लडाउनमा घर फर्किएका कैलाली टिकापुरका भिम बुढा पनि पुनः कामकै खोजीमा भारत जान गौरिफण्टा नाका पुगेका थिए । ‘भारतबाट कमाएर ल्याएको सबै सक्कीयो, यहाँ बसेर के गर्ने ।’ उनले प्रश्न गरे ।
पछिल्लो समय कैलालीको गौरीफण्टा नाकामा दिनँहु भारत जानेहरुको भिड थामि नसक्नु लाग्ने गरेको छ । कोरोना महामारीका बिच भारतबाट घर फर्किएका अधिकाशं नेपालीहरुले धमाधम कामको खोजीमा पुनः भारत फर्किन थालेका छन् ।
सुदूरपश्चिमका अधिकाशं नागरीक परिवारको पेट पाल्नका लागी भारत जाने गरेका छन् । सरकारले जारी गरेको लकडाउनले शैक्षिक संस्था लामो समय बन्द भएपछि १४/ १५ वर्ष उमेरका कतिपय बालबालिकाहरू समेत अभिभावकसँग भारत गइरहेका छन् ।
सिमामा नेपालीहरुलाई भारत जान भारतीय आधार कार्ड आवश्यक हुन्छ । नेपालबाट जानेहरू की भारतीय नागरिक हुनु पर्ने कि त भारतीय आधार कार्ड हुनुपर्ने सिमा सुक्षामा खटिएका सुरक्षाकर्मीले जनाएका छन् ।
नेपालीहरु लैजान सीमामै पुग्नछ ‘सेठ’
लकडाउन अवधीमा नेपालीहरु धमाधम घर फर्किएपछि यतिबेला भारतमा कामदारको अभाव भईरहेको छ । कामदारको अभावमा भारतमा विभिन्न उद्योग कलकारखाना सञ्चालनमा समस्या भईरहेको छ । भारतमा नेपाली कारदारको अभाव भएपछि भारतीय साहु (सुदूरपश्चिमेलीमा सेठ) सीमा नाकामै पुग्ने गरेका छन् ।
उनिहरुले सीमा नाकाबाटै नेपालीहरुलाई आ–आफ्नो कम्पनीमा कामको लागी लैजाने गरेका छन् । भारतीय आधार कार्ड नभएका नेपालीहरु समेत भारतीय साहुले आफ्नो जिम्मामा कामको लागी लैजाने गरका छन् । लकडाउन अवधिमा सुदूरपश्चिमका मात्रै झण्डै पाँच लाख बढी नेपालीहरु घर फर्किएका थिए ।
सिमामा खटिएका भारतका सीमा सुरक्षा अधिकारीले भारतमा रोजगार दिनेवालाले आफ्नो कामदार हो भनी लिखित रूपमा सरकारी निकायलाई दिएको नामका आधारमा नेपालीलाई प्रवेश दिने गरिएको बताए ।
मुख्यमन्त्रीको पहिलो सम्बोधन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिम्मेवारी सम्हाले लगत्तै पहिलोपटक रोजगारीको लागी भारत जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका थिए । लामो समय भारतमा आफैले चौकीदारी गरेका मुख्यमन्त्री भट्टले आफुले जस्तै भारतमा चौकीदारी गर्न जानुपर्ने बाध्यताको अन्त्य गर्ने भाषण गर्दै आएका थिए ।
भट्टले प्रदेशमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको तीन बर्ष बितिसकेको छ । तर रोजगारीको लागी भारत जानेहरुको संख्या भने विगतको भन्दौ बढ्दै गएको देखीन्छ । कोरोना महामारीको त्रासले लाखौं संख्यामा नेपालीहरु स्वादेश फर्किए तर नेपालमा कुनै रोजगारी नभएपछि महामारीकै बिच धमाधम पुनः भारत जान थालेका छन् । अहिले सुदूरपश्चिम दैनिक पाँच सयदेखी एक हजार नेपाली ज्यान जोखीममा राखेर रोजगारीको लागी भारत गईरहेका छन् ।
नेपालमा कुनै रोजगारी नहुदाँ कोरोनाको कुनै वास्ता नगरी रोजगारीको लागी भारत जानेहरुको सिमा नाकामा दिनहु लर्को लाग्ने गरेको छ । रोजगारीको लागी भारत जाने नेपालीहरुले आफुहरुलाई नेपालमा सरकार छ भन्ने अनुभुती सम्म भएको गुनासो गरेका छन् ।
कामको खोजीमा भारत जान सीमामा पुगेका कैलाली गौरीगंगाका विर बहादुर बिकले आफुलाई नेपाल सरकार छ भन्ने अनुभुति समेत नभएको सुनाए । उनले नेपालमा बस्दा बालबच्चा पाल्न नसकिने भन्दै काम खोज्न भारत लागेको बताए ।
कैलाली टिकापुरकी रेणुका नेपालीले कोरोनाको डरले स्वदेश फर्किएको र नेपालमा कुनै काम नपाएपछि भारत जान लागेको बताइन् ।
यसरी नेपालमा कुनै काम नपाएर रोजगारीको लागी दिनहुँ भारत गईरहेका नेपालीहरुलाई स्वदेशमै रोजगारी दिन प्रदेश र स्थानिय सरकारले पहल चालेको देखीदैन् । रोजगारीको लागी भारत जानुपर्ने बाध्यता अन्त्य गर्छु भन्ने मुख्यमन्त्री कानमा तेल हालेर सुतेको भन्दै चौतर्फि आलोचना भईरहेको छ ।
भदौ महिनाको १८ गतेसम्म त्रिनगर नाका हुँदै तीन हजार बढी नेपाली रोजगारीकै लागि भारत गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।