मुम्बई–भारतीय अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणले बलिउडदेखि भारतीय सञ्चार माध्यमसम्म बहस भइरहेको छ। लागुऔषधदेखि धेरै पाटाहरुसम्म सार्वजनिक भइरहेका छन्। यही प्रकरणमा सुशान्तकी पूर्वप्रेमिका रिया चक्रवर्ती बहसको केन्द्रविन्दुमा छिन्। केन्द्रीय अनुसन्धान ब्युरो ९सिबीआई० ले उनीसँग तीन दिन लगातार बयानसमेत लियो। उनका भाइ शौविक चक्रवर्ती र सुशान्तका पूर्वम्यानेजर स्यामुअल मिरिन्डा पक्राउ पनि परेका छन्। उनीहरु हत्यामा नभई लागुऔषधमा अनुसन्धानका लागि पक्राउ परेका हुन्।
यो प्रकरणमा अनुसन्धान चलिरहेको समयमा रियामाथि ‘मिडिया ट्रायल’ भइरहेको आरोप बलिउडकर्मीले लगाउन थालेका छन्। रियालाई दोषी देखाउनेदेखि महेश भट्टलगायतसँगको सम्वन्ध पुष्टि गर्न खोज्नेजस्ता धेरै काम सञ्चार माध्यमले गरेको भन्दै केही अभिनेत्रीहरु आलोचनाको मैदानमा उत्रेका छन्। अभिनेत्री विद्या वालन, तापसी पन्नू, स्वरा भाष्कर, शिवानी डान्डेकर, लक्ष्मी मन्चुपछि बलिउडका अन्य सेलिब्रेटीहरुले पनि ‘मिडिया ट्रायल’ विरुद्ध आवाज उठाएका छन्।
सुशान्तको मृत्यु प्रकरणमा कानुनी रुपमा छानबिन भइरहेको छ र कानुनी फैसला हुन अझै बाँकी छ। यद्यपि मिडियाले भने सुरुदेखि नै रिया चक्रवर्तीलाई आरोपित गर्दै दोषी करार गरिरहेका छन्। यस्तो कार्य बन्द गर्न र निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै बलिउडकर्मीहरु अगाडि आउन थालेका हुन्।
यी अभिनेत्रीहरुले यसविरुद्ध आवाज उठाउन थालेसँगै अन्यले पनि यसबारे बोल्न सुरु गरेका छन् । जसमा बिहीबार निर्देशक रामगोपाल वर्माले ट्वीट गर्दै लेखेका छन्, ‘रियामाथि निष्पक्ष छानबिन हुनुपर्छ भनेर विद्या, तापसी, स्वरा, लक्ष्मी र शिवानीले ट्वीटरमा सुरु गरेको यो आवाजले बलिउड महिलाहरुमा बलिउडका पुरुषमा भन्दा धेरै हिम्मत छ भन्ने कुरा प्रमाणित भएको छ।’
यसको केही दिनअघि पनि पनि बर्माले रियाले मिडियामा आएर आफ्नो आवाज राखेकोमा समर्थन जनाएका थिए। यद्यपि सामाजिक सञ्जालमा रिया मिडियामा आएर अन्तर्वार्ता दिनु ‘जस्टिस फर रिया’ अभियानको पूर्व योजनामात्रै भएको भन्दै विरोध भइरहेको छ।
यता ‘जस्टिस फर रिया’ अभियानमार्फत् बलिउडकर्मीहरुले अनुसन्धान एजेन्सीहरुको रिपोर्ट धैर्यतापूर्वक प्रतिक्षा नगरी किन समाचार प्रसारण गरिरहेका छन् भन्दै प्रश्न तेस्र्याइरहेका छन्। यसका साथै रियाविरुद्धको ‘मिडिया ट्रायल’का विरोधीहरुले रियाले के गरेकी छन्, सुशान्तको मृत्यु प्रकरणमा रिया कति जिम्मेवार छिन् भन्ने कुरा पत्ता लगाउने जिम्मा जाँच एजेन्सी र न्याय व्यवस्थालाई दिनुपर्ने विषयमा जोड दिएका छन्।
अभिनेत्री विद्या वालनले सुशान्तको मृत्य मिडियामा एक सर्कस बनिरहेकोप्रति दुःख व्यक्त गर्दै एक महिलाको नाताले रियालाई मिडियाले बदनाम गरेको देखेर भित्रभित्रै विक्षिप्त भएको बताएकी छिन्। कानुनले दोषी नभनेसम्म रियालाई दोषी नभनिदिनु पर्नेमा उनको जोड छ।
यस्तै अभिनेत्री तापसी पन्नुले रिया र सुशान्त दुवैलाई व्यक्तिगत रुपमा नचिने पनि मानवताको हिसाबबाट हेर्ने हो भने कानुनले दोषी नभनिसकेको व्यक्तिलाई मिडियाले त्यसरी प्रस्तुत गर्दा उसलाई कति दुःख लागिरहेको छ भन्ने कुरा महसुस गर्नुपर्ने बताएकी छन्।
बलिउड अभिनेत्रीहरुको यो आवाजमा अभिनेत्री मिनिसा लाम्बा र अभिनेता हर्षवर्धन कपूर लगायतका कलाकार पनि साथमा छन् । यो प्रकरण अझै बढ्ने देखिन्छ। एकातर्फ सञ्चारमाध्यम रियालाई दोषी देखाउन हतारो गरिरहेको छ भने उनीहरु त्यसविरुद्ध एकजुट भइरहेका छन्।
बिबिसी हिन्दीबाट