धनगढी, २० भदौ/ प्रकृतिका कुचिकार गिद्धहरू पछिल्लो समयमा लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थान समस्या, विषादी प्रयोग र आहारा अभावमा पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लामा गिद्धको संख्या ह्वात्तै घटेको हो । विभिन्न जिल्लामा गिद्ध संरक्षणका लागि अभियान थालिएपनि सुदूरपश्चिममा अहिलेसम्म यसो गरिएको छैन।
गुँड बनाउने सिमलको रुख मासिँदै गएपछि गिद्ध पनि हराउँदै गएको वन उपभोक्ता महासंघ बैतडीका अध्यक्ष चक्रप्रसाद शर्माले बताए। ुबढ्दो वन विनाश र रासायनिक औषधि प्रयोगले गिद्धलगायतका पशुपंक्षीको अस्तित्व संकटमा परिरहेको छ, जसको मारमा मानव जाति पनि छ,ु उनले भने, ‘ठूला भीरहरूमा पाइने गिद्ध पछिल्लो समयमा देखिनै छोडेका छन्।’ गिद्ध संरक्षणका लागि सरकारी तथा स्थानीयस्तरबाट कुनै पहल नभएको दोगडाकेदार(३ का गणेश विष्टको भनाई छ। आहारामा समेत समस्या आएकाले गिद्ध लोप हुँदै गएको उनी बताउँछन्।
मरेका पशुपंक्षीको सिनोलाई गिद्धले आहाराको रुपमा प्रयोग गर्ने गर्दछ। तर पछिल्लो समय बाहिर सिनो फाल्ने चलन पनि कम हुँदैछ। त्यति मात्रै नभएर भैंसीहरू समेत मासुका लागि तराईतिर बिक्री गर्न थालिएकाले गिद्धको आहार घट्दै गएको छ। पशुहरूमा प्रयोग गरिने डाइक्लोफेनिक औषधीले पनि गिद्धहरू लोप हुन थालेको जानकारहरू बताउँछन्। नेपालमा डाइक्लोफेनिक औषधि बिक्री वितरणमा रोक लगाइएपनि भारतसँगको खुला सीमाबाट यस्तो औषधि भित्रिने गरेको छ।
जिल्लामा भने डाइक्लोफेनिक औषधिको प्रयोग शून्यमा झरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टले बताए। अहिले विश्वभर २३ प्रजातिका गिद्ध पाइन्छन्। त्यस मध्ये दक्षिण एशियामा ९ र नेपालमा ८ प्रजातिका गिद्ध पाइन्छन्। नेपालमा पाईने ८ प्रजातिका गिद्धमा सानो खैरो, डंगर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन। गिद्ध सिकारी चरा समूह अन्तर्गत पर्ने ठूला मांसाहारी पंंक्षी हो। यिनले आफैँ शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाने गर्दछन्। मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ। गिद्धहरूले विभिन्न हानिकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन्।
पर्यावरणीय चक्र र सनातन खाद्य श्रृङ्खला सन्तुलन र गतिशीलताका संवाहक गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता रहेको विज्ञहरूको भनाई छ। पर्यावरणीयसँगै गिद्धको धार्मिक र सांस्कृतिक महत्व पनि छ। हिन्दू धर्ममा गिद्धलाई शनि देवताको वाहनको रुपमा पुजिन्छ। प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुञ्जेल लडेको उल्लेख छ।
नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बतियन मूलका लामा समुदायले मृतक आफन्तको शव गिद्धलाई खुवाउँछन्। गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुराउने दूतका रुपमा पुज्ने गर्छन्।