काठमाडौं- डा युवराज खतिवडाले शुक्रबार राजीनामा दिएपछि रिक्त भएका दुवै मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफैसँग राखेका छन्। अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रधानमन्त्री केपी ओली आफैंले राखेका हुन्।
तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी अर्थ मन्त्रालय सम्हालेका डा युवराज खतिवडाले पाएका थिए। शुक्रबार उनले राजीनामा बुझाएपछि दुई मन्त्रालय खाली भएका हुन्।
यसअघि संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सहरी विकास मन्त्रालय रिक्त हुँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई दिइएको थियो। हाल नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातसहित सहरी विकास मन्त्रालयको दोहोरो जिम्मेवारीमा लिएका छन्।
प्रधानमन्त्रीले चाहेको अवस्थामा उनले जुनसुकै बेला पनि अन्य मन्त्रीलाई हाल रिक्त भएका मन्त्रालयको जिम्मेवारी सम्हाल्न लगाउन सक्नेछन्।