सुर्खेत १९ भाद्र- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लडकडाउनले विभिन्न विकासे कार्यालयको करोडौं बजेट फ्रिज भएको छ । पूर्वाधार विकास कार्यालयदेखि सडक डिभिजन कार्यालयका करोडौं बजेट लकडाउनका कारण खर्च हुन नसकी फिर्ता भएको हो । जसमा सडक डिभिजन कार्यालयमा आएको बजेटमध्ये लकडाउनका कारण साढे ३९ करोड बजेट फिर्ता भएको छ ।
गत आवमा सडक डिभिजन कार्यालयमा जुम्ला, कालिकोट र मुगुमा सडक निर्माण, मर्मत सम्भार, पुल निर्माण, नयाँ ट्रयाक निर्माण ग्राभेल लगायतका शीर्षकमा आएको करिब साढे ३९ करोड खर्च हुन नसकी फिर्ता भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए । उनले भने, “विभिन्न ७ वटा शीर्षकमा विनियोजित ८६ करोड ४५ लाख बजेटमध्ये कोरोना त्रासबीच पनि ४६ करोड ९३ लाख ३८ हजार खर्च भएको छ भने बाँकी ३९ करोड ५१ लख ६४ हजार बजेट कोरोना त्रासले गर्दा चाहेर पनि खर्च गर्न सकिएन ।”
कोरोना त्रासले गर्दा ३९ करोड विकासे बजेट फिर्ता भएपछि विकास निर्माणमा बाधा भएको छ ।
तर पनि लकडाउनकै बीच सडक डिभिजनले दर्जनौं योजना सम्पन्न गरेको छ । रणनीतिक सडक मर्मत सम्भार मुगु, कालिकोट र जुम्ला, शीर्षकका ७ योजना, रणनीतिक पुल निर्माण तथा पुलेसा संरक्षण शीर्षकका ३ योजना, स्थानीय सडक पुल निर्माणअन्तर्गत २ पुल सम्पन्न, राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत ४ योजना सम्पन्न भएका छन् ।
मनाङ, मुस्ताङ र डोल्पा–जुम्ला सडक निर्माणअन्तगर्त ४ योजना, नेपालगन्ज–सुर्खेत–दैलेख बजार महाबुलेक गाल्जे–भातडी–रतडा नाग्मगमगडी सडक शीर्षकका ४ योजना सडक पूर्वाधार विकास कार्यक्रमका ७ वटा योजना गरी जम्मा दुई दर्जन योजना सम्पन्न भएका हुन् ।
साथै भौतिक प्रगतितर्फ सामरिक महत्वका सडक मर्मत सम्भार १ सय ९७ किमि, पुल निर्माण २ वटा, कालोपत्रे तथा सर्भे डेसिङ १९ किमि, ग्राभेल सडक १७ किमि, नयाँ ट्रयाक निर्माण २७ किमि र सडक चौडा ७४ किलोमिटर गरिएको प्रमुख इन्जिनियर भण्डारीको भनाइ छ ।