काठमाडौं १९ भाद्र- ललितपुरको चक्रपथ क्षेत्रभित्र कफ्र्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको हो।ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडप भएपछि कफ्र्यू आदेश जारी गरेको महानगरीय प्रहरी परिसरका प्रमुख टेक प्रसाद राईले जानकारी दिए।
निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि स्थानीय र प्रहरीबीच झडपले उग्ररुप लिएको थियो। रथयात्राका लागि पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। बिहानैदेखि सयौं संख्यामा स्थानीय जम्मा भएका थिए। कोरोना संक्रमण फैलिने भन्दै प्रहरीले स्थानीयलाई माइकिङ गरेर घर जान आग्रह गरेको थियो।
मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको बताइएको छ। असोज २ देखि मलमास सुरु हुँदैछ। कोरोना महामारीका कारण निर्धारित तिथिमा हुन नसकेको रथ जबरजस्ती तानिएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका हुन्।
लकडाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित गरेको थियो। कोरोनाका कारण उपत्यकामा धार्मिक गतिविधि तथा जमघटमा रोक लगाइएको छ। वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ। रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ।