धनगढी, १७ भदौ/ डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका ८ डोलागाउँमा सडक निर्माणका नाममा भएको सालको वन फडानीमा संलग्न मध्ये थप तीन जनालाई डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रण लिईएको छ । पछिल्लो पटक पक्राउ परेका तीन जना लगाएर जम्मा पक्राउ पर्नेको संख्या पाँच पुगेका छ ।
सडक निर्माणका क्रममा अवैध रुपमा सालका रुख काटिएको सूचनाका आधारमा डिभिजन वन कार्यालय डडेल्धुराले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा अहिले सम्म पाँच जना पक्राउ गरिएको डडेल्धुराका निमित्त वन अधिकृत डबल बहादुर बोहराले बताए । सूचनाका आधारमा काठ काटिएको क्षेत्रमा लुकाई राखेका सालका गोलिया बरामत गर्ने क्रममा वन कार्यालयको टोलीले एक जना सामुदायिक वनका अध्यक्ष र एक स्थानीय गरी दुई जना यस अघि नै पक्राउ गरिसकेको छ ।
गाउँपालिकाको समपुरक बजेटबाट निर्माण सुरु भएको उक्त सडकका विषयमा गाउँपालिकाको जवाफ मागेको र उसको जवाफका आधारमा थप तिन जनालाई पक्राउ गरिएको कार्यालयका निमित्त अधिकृत बोहराले बताए । पक्राउ पर्नेमा उग्रतारा कन्ट्रक्सन प्रा.लि.का तर्फबाट सडक निर्माणको काम गरिरहेका ठेकेदार मानसिहं घर्तीमगर र दुई जना अन्य रहेका छन् । बोहराले भने हाम्रो अनुसन्धान जारी छ, पक्राउ परेकाको बयान लिनेक्रम पनि जारी रहेकको र उनीहरुलाई बयानका आधारमा अदालतमा पेश गरिने छ ।
सडक निर्माणका लागी ठेकेदारसंग सम्झौता गर्ने गाउँपालिकाकमा प्रमुख प्रशासकिय अधिकृत र अनुगमन समितिका संयोजक गाउँपालिका उप(प्रमुख गरी दुई जनासंग पनि बयान लिइएको बोहोराले बताए । उनीहरुको बयान र गाउपालिकाको जवाफका आधारमा थप तिन जना लाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बोहोराले बताए ।
आलिताल गाउपालिका ८ गोदामबजार देखि डोलागाउँ चक्रपथ निर्माणका क्रममा १ सय ७२ थान गोलीया र ३० थान दाउरा प्रयोजनमा प्रयोग हुने काठ बरामत गरेर आलिताल सव वन डिभिजन कार्यालय घरेलुमा राखेको छ । यस्तै १४ वटा सिंगै रुख काटिएको अवस्थामा समेत फेला परेका छन् । आलिताल ८ का स्थानीय शर्मानन्द जोशीको घरबाट समेत २० थान गोलीया र ३० थान दाउरा प्रयोजनमा आउने सालको काठ बरामत गरिएको थियो ।
वन कार्यालय डडेल्धुराले घटनाको निकै पछि जानकारी भएकाले रुख कटानमा प्रयोग भएका मेसिन बरामत गर्न नसकेको जनाएको छ । निमाणर् कम्पनीका सञ्चालकसंग पनि अनुसन्धान जारी रहेको छ, बयानका आधारमा रुख काट्न प्रयोग भएका मेसिन समेत नियन्त्रणमा लिइने निमित्त प्रमुख बोहोराले बताए ।
सडक निर्माणका नाममा राष्ट्रिय वन र रजनी सामुदायिक वन समुहमा ठुलो मात्रामा सालका रुख काटेको थियो । समाजसेवी एवं कानुन व्यवसायी तुलाराम बोहराले भने ‘सालको वन फडानीमा काम गर्न अनुमति दिने गाउँपालिका, वनको रेखदेख गर्ने जिम्मा पाएको आलिताल सव(डिभिजन वन कार्यालयका कर्मचारी र सडक बनाउने निर्माण कम्पनी दोषी रहेकाछन् । डिभिजन वन कार्यालय डडेल्धुरा भने दोषीलाई कारबाही गर्नेभन्दा पनि घटनामा दोषी रहेका आफ्ना कर्मचारी र काम गर्न अनुमती दिने गाउँपालिका बचाउनमा लागेको देखिन्छ ।’
स्थानिय समाजसेबी रामबहादुर कुवरले भने ‘आलितालमा कहिले सडक त कहिले स्कुलका नाममा सालको काँचो काठ तस्करी गर्ने गरिन्छ तर डिभिजन वन कार्यालय डडेल्धुरा भने वास्तविक दोषीमाथि कारबाही भन्दा पनि सिमित समुहका पदाधिकारी र पात्र खडा गरेर कारबाही गरेको देखाएर पन्छिने गरेको छ ।’
