धनगढी, १६ भदौ/ भीमदत्त नगरपालिकामा कोरोना संक्रमणका कारण घर फर्किएका हरुलाई रोजागरी दिने कार्य अघि बढाएको छ । नगरपालिकाले विदेश फर्किएका वासिन्दाको सीप उत्पादन मुलक कार्यमा लगाउने गरी तयारी सुरु गरेको हो ।
भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले सबै वडाका सचिवलाई विदेशबाट फर्किएका वासिन्दालाई स्वरोजगार बनाउन कार्यक्रमको तयारीमा जुट्न निर्देशन दिएका छन् । त्यसका लागि उनले सबै वडाका सचिव र सामाजिक परिचालकसित छलफल गरेका छन् । रोजागर कार्यक्रम सञ्चालनका लागि सबैभन्दा पहिले सबै वडामा विदेशबाट घर फर्किएका वासिन्दाको तथ्याङ्क संकलन गरी अघि बढाइने भएको छ । त्यसका लागि भदौ मसान्तभित्र सबै वडाको तथ्याङ्क संकलन गर्ने तयारी गरिएको छ ।
नगरपालिकाका अनुसार तथ्याङ्क संकलनका क्रममा विदेशबाट फर्किएको व्यक्ति र उनीहरुले गर्न चाहको व्यवसायको तथ्याङ्क संकलन गरिनेछ । भीमदत्त नगरपालिकाका मेयर विष्टले कोरोना संक्रमणले घर फर्किएका वासिन्दाको सीप क्षमताले नगरको विकास र समृद्धिमा टेवा पुग्ने भएकाले रोजागरका कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
‘भीमदत्तको समृद्धि र विकासको नारा लिएर अघि बढेका छौ, त्यसका लागि हरेक नागरिक सक्षम, स्वरोजगार र उत्पादनमुलक कार्यमा लाग्नु आवश्यक छ’ उनले भने,‘त्यसका लागि अहिले विदेशबाट घर फर्किएका वासिन्दाको सीप क्षमतालाई नगरको विकास र समृद्धिमा लगाउने कुरा गरेका छौ ।’ भीमदत्त नगरपालिकाले कोरोना संक्रमण फैलिएपछि गत वर्ष कार्यपालिका बैठकबाट नगर वासिन्दालाई उत्पादन मुलक कार्यमा लगाउने निर्णय गरेको थियो ।
पश्चिमी सीमा नाका गड्डाचौकीका कारण भीमदत्त नगरपालिका कोरोना संक्रमणको उच्त जोखिममा छ । कोरोना महामारीपछि भारत सहित तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश बासिन्दा घर फर्किएका छन् । भीमदत्त नगरपालिकाका नगर प्रमुखको सचिवालयका नायब सुब्बा दिनेशराज भट्टले सबै वडाबाट तथ्याङ्क संकलन गरी व्यवसाय गर्न चाहनको वासिन्दाको विवरण तयार गरिने बताए ।
‘मेयरसापको उपस्थितिमा तथ्याङ्क संकलन गर्ने सम्बन्धि अभिमुखीकरण गरिएको छ, भदौ मसान्तभित्र तथ्याङ्क संकलन हुन्छ,’ उनले भने,‘त्यसपछि फारामका आधारमा के कस्तो व्यवसाय गर्न खोजिएको छ, त्यसको विवरण तयारी गरी अघि बढ्छौ ।’ तथ्याङ्कका आधारमा व्यवसाय सञ्चालन गरी उनीहरुलाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरिने भएको हो । त्यसका लागि नगरपालिकाले अन्य निकायसंग पनि सहकार्य गर्ने नायब सुब्बा भट्टले बताए ।